जेठ १८, नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया (एमएसआई) को विक्रीमा उच्च कमी आएको छ ।
मे महीनामा कम्पनीले ४६ हजार ५५ थान मात्रै सवारी साधन बेचेको छ । विक्रीको यो आकार अप्रिलको तुलनामा ७१ प्रतिशत कम हो ।
अप्रिलमा कम्पनीका १ लाख ५९ हजार ६९१ थन कार बिकेका थिए । कोरोना भाइरसको दोस्रो लहरका कारण देशका विभिन्न राज्यहरुमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएको अनि लकडाउन लगाइएकोले गत महीना कम्पनीको विक्री घटेको हो ।
कम्पनीले मे १ देखि १६ सम्म अक्सिजन स्वास्थ्य उपचारमा प्रयोग गर्न सकियोस् भनेर कार उत्पादन नै बन्द गरेको थियो । समीक्षा अवधिमा भारतीय बजारमा कम्पनीले ३५ हजार २९३ थान कार बेचेको छ ।
यो अप्रिलको तुलनामा ७५ प्रतिशत कम हो । निर्यात पनि सो अवधिमा ३५ प्रतिशतले घटेर ११ हजार २६२ थानमा झरेको छ । एजेन्सी