लोभ लाग्दा विशेषतासहित इलेक्ट्रिक बाइक ‘याक’ सार्वजनिक

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको छ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ चिनियाँ विद्युतीय २ पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्र्याएको हो । अन्य बाइकको तुलनामा यसले निकै कम उर्जा खपत गर्ने र यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने दाबी कम्पनीको छ । पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्ने बताईएको छ ।बाइक सार्वजनिक समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याका लागि नेपाल जिम्मेवार नरहेपनि प्रभाव भने परिरहेको बताएकी छिन् ।उनले भनिन्, “भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ, विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ । त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले  याक बाइक्सलाई नेपालमा भित्र्याएको हो ।’’जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न  याक बाइक्स यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको  समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ।“