५१ कम्पनीमा गरिएको लगानी जोखिमयुक्त : बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलवार धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूमध्ये ५१ कम्पनीको शेयरमा गरेको लगानी जोखिमयुक्त रहेको जानकारी दिएको छ । अध्ययन र अनुसन्धानका क्रममा ती कम्पनीको शेयरमा गरिएको लगानी जोखिमयुक्त रहेको बोर्डले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पुष्टि गरेको हो । ५१ कम्पनीहरूको नाम नै सार्वजनिक गर्दै बोर्डले ती कम्पनीहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको जानकारी दिएको हो । विगत १ वर्षको अवधिमा मूल्य वृद्धि ३ सय प्रतिशत र त्यसभन्दा बढी प्रतिशतले भएको, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएको, प्रतिशेयर आम्दानी ऋणात्मक भएको, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएको कम्पनीहरूको वित्तीय क्षमताको मूल्यांकनसमेतको आधारमा बोर्डले ५१ कम्पनीमा लगानी गर्नु जोखिमयुक्त रहेको जानकारी दिएको हो । सोही आधारमा ती कम्पनीको थप अध्ययन तथा अनुसन्धान भइरहेको समेत बोर्डले जानकारी दिएको छ । बजारको जोखिमलाई ध्यानमा राखी लगानीका लागि बोर्डबाट भएको अध्ययनले निर्णय लिन सहयोग पुगोस् भन्ने आशयले कम्पनीको वास्तविक अवस्थासहित नाम नै सार्वजनिक गरेको बोर्डले स्पष्ट पारेको छ । धितोपत्र बजार जोखिममुक्त नरहेको हुँदा यस क्षेत्रमा लगानीको जोखिम आकलन गरेर मात्र लगानी गर्नसमेत बोर्डले सचेत पारेको छ । बजारको सर्वमान्य सिद्धान्तअनुसार धितोपत्र बजार बढी रहने मात्र नभई समय क्रममा घटबढ पनि हुने हुँदा बजारमा हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अति नै जोखिमयुक्त रहेको बोर्डले स्पष्ट पारेको छ । कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नुपूर्व उक्त कम्पनीको वित्तीय अवस्था र विविध परिसूचकबारे जानकारी प्राप्त गरी आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता मूल्यांकन गरेर मात्र लगानीसम्बन्धी निर्णय पनि बोर्डले सुझाव दिएको छ । बोर्डले सार्वजनिक गरेको कम्पनीहरूको नामसहित यसअघिको नेप्सेले कायम गरेको उच्च विन्दु १ हजार ८८१ दशमलव ४५ विन्दु हुदाँको अवधि र हालको अवधिसम्म ती कम्पनीको शेयरमूल्य, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात र प्रतिशेयर नेटवर्थसमेत प्रस्तुत गरेको छ । बोर्डले प्रामाणित गरेको ५१ जोखिमयुक्त कम्पनीमध्ये २२ जलविद्युत् कम्पनी, दुई विकास बैंक, चार वित्त कम्पनी, दुई होटेल, दुई व्यापारिक कम्पनी, पाँच जीवन बीमा कम्पनी, पाँच निर्जीवन बीमा कम्पनी, दुई उत्पादन तथा प्रशोधन, दुई लघुवित्त र पाँच अन्य समूहका कम्पनी रहेका छन् । बोर्डले बजारमा रहेको जोखिमलाई ध्यान दिई लगानी गर्न अपनाएको यो तरिकालाई भने लगानीकर्ता संघका पदाधिकारीहरूले असन्तुष्टि जनाएका छन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले कम्पनीहरूको नाम नै सार्वजनिक गरेर जोखिमयुक्त प्रामाणित गर्दा लगानीकर्ताहरू आत्तिएको जानकारी उनले दिएका छन् । धितोपत्र बजारको इतिहासमै नभएको काम बोर्डले गरेकाले यसबाट भोलिका दिनमा पर्न सक्ने जोखिमको जिम्मा बोर्डले नै लिनुपर्ने तर्क रौनियारको छ । नियामक निकायले नियम बनाउने हो, लगानीकर्ताले महँगोमा शेयर किन्दा सम्बद्ध सबै निकायलाई कमिशन बुझाएर कारोबार गरेका छन् । सिस्टममा बसेर कारोबार गरेका छन् भने जोखिमयुक्त भनेर प्रमाणित गर्नुको औचित्य के हो भन्ने प्रश्न पनि उनले गरे । शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले पनि बोर्डले जोखिमयुक्त सावित गरेको कम्पनीहरूको नाम नै सार्वजनिक गर्नु अस्वाभाविक भएको प्रतिक्रिया दिए । धितोपत्र बजारमा लगानीकर्ताको मनोबलले धेरै प्रभाव पर्ने हुँदा बोर्डको यस कदमले भोलिका दिनमा लगानीकर्ताको मनोबलमा असर पर्नसक्ने उनको अनुमान थियो । नियामक निकायले लगानीकर्तालाई सजग गराउने उद्देश्य लिएको भए पनि तरीका गलत भएकाले लगानीकर्ताहरूलाई नआत्तिन समेत उनले सुझाव दिएका छन् । शेयर कारोबारमा सूचनाले महŒवपूर्ण भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिँदै आएको बोर्डको मंगलवार सूचना प्रवाह गर्ने तरीका गलत भएको अर्यालको भनाइ छ ।