नेपालमा पुरुष भन्दा महिलाको संख्या ६ लाख बढी, जनसंख्या वृद्धिदर १ प्रतिशत भन्दा कम

नेपालको जनगणनाको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको संख्या वृद्धि उच्च देखिएको छ। बुधबार केन्द्रीय तथ्याक विभागले जारी गरेको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको संख्या वृद्धि  उच्च देखिएको हो।

सम्बन्धित सामग्री

नेपालको जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४८०

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यो संख्या १० वर्षअगाडि गरिएको गणनाभन्दा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । १० वर्षअघि २०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षको सरदर जनसंख्या वृद्धिदर वार्षिक शून्य दशमलव ९३ प्रतिशत देखिएको छ । १० वर्षअघि गरिएको जनगणनामा यस्तो वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । १९८७ सालपछि जनसंख्याको वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम भएको यो पहिलोपटक हो । १९७८ र १९८८ सालमा भने जनसंख्याको वार्षिक वृद्धिदर नै नकारात्मक भएको थियो । २०२८ देखि २०६८ सालसम्म हरेक वर्ष औसतमा जनसंख्याको वार्षिक वृद्धिदर २ प्रतिशतभन्दा धेरै रहेको देखिन्छ । अहिले गरिएको जनगणनाअनुसार कुल जनसंख्यामा १ करोड ४९ लाख १ हजार १६९ जना महिला र १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष रहेका छन् । प्रतिशतका आधारमा अंश महिलाको ५१ दशमलव शून्य ४ र पुरुषको ४८ दशमलव ९६ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा पुरुष ४८ दशमलव ५ र महिलाको अंश ५१ दशमलव ५ प्रतिशत थियो । प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोवास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवार ५६ लाख ४३ हजार ९ सय ४५ ओटा घरमा बसेका देखिएको विभागले जानकारी दिएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करीब २४ दशमलव ५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७ सय ५७ ओटा परिवार थप भएको छ । ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा २० लाख १७ हजार रहेको छ । सबै भन्दा कम जनसंख्या मनाङमा ५ हजार ६४५ रहेको प्रारम्भिक गणना विभागले सार्वजनिक गरेको छ । ३२ ओटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । नेपालको कुल जनसंख्यामध्ये प्रदेशगत आधारमा मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २ सय ८८ रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ । लैंगिक अनुपातमा सबैभन्दा धेरै मधेश प्रदेशमा १ सय १ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर सातओटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रतिवर्ष १ दशमलव २५ र सबैभन्दा कम गण्डकी प्रदेशमा शून्य दशमलव ३० प्रतिशत रहेको विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ नेपालको बाह्रौं र विसं २०७२ मा जारी भएको नेपालको संविधानपछिको पहिलो जनगणना हो । जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणको कात्तिक २५ देखि २०७८ मङ्सिर ९ सम्म गरिएको थियो ।