बैतडी । बैतडीको मेलौली नगरपालिकामा चन्दा संकलन गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । ‘सपोर्ट सोसाइटी नेपाल’ नामक संस्थाको पहलमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।
संथाले स्वैच्छिक चन्दा संकलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको संस्थाका सचिव दशरथसिंह नायकले जानकारी दिए । ‘अभियान थालनी भएको छोटो अवधिमै उलेख्य रकम संकलन गर्न सफल भएका छौं,’ उनले भने, ‘देश तथा विदेशबाट चन्दा संकलन गरिएको रकमले र सरकारले दिएको भन्सार छूट सुविधाले अक्सिजन, एसीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याउन सम्भव भएको हो ।’
उनका अनुसार गत चैतदेखि चन्दा संकलन अभियान थालिएको थियो । सो अभियानमार्फत १३ लाख ८० हजार रुपैयाँ संकलन भएको र १३ लाख ३० हजार रुपैयाँमा एम्बुलेन्स खरीद गरिएको नायकले बताए ।
यसअघि मेलौलीमा एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल लैजान कठिनाइ हुने गरेको थियो । ‘बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महँगो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यता अब हट्ने विश्वास छ,’ नायकले भने ।
नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि खुशी लागेको स्थानीय रुवी नायकले बताइन् । ‘आपतको घडीमा सवारी नपाउने अवस्था रहेको थियो,’ उनले भनिन्, ‘एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि समयमै अस्पतालसम्म जान सजिलो हुने आशा छ ।’
एम्बुलेन्स सेवाको उद्घाटन गर्दै मेलौली नगर प्रमुख कृष्णसिंह नायकले सामाजिक सेवामा सपोर्ट सोसाइटी नेपालले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए । ‘सराहनीय कामले अरूलाई पनि समाज सेवा गर्न प्रेरित गर्छ,’ नगरप्रमुख नायकले भने । एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै ग्रामीण भेगका नागरिकलाई थोरै भए पनि सहज हुने विश्वास लिइएको छ । रासस