डलरको भाउ हालसम्मकै उच्च, सुनको मूल्य रेकर्ड भन्दा ५०० रुपैयाँ मात्रै कम

फागुन २४, काठमाडौं। मंगलवार नेपाली मुद्रा हालसम्मकै कमजोर देखिएको छ । १ मअेरिकी डलर किन्न नेपाली १२३ रुपैयाँ ४४ पैसा खर्च गर्नुपर्ने भएको छ । सुनको मूल्य भने मंगलवार स्थिर रहेको छ । गत सातादेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलवार भने यथावत रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलवार पनि सोही मूल्यमा कारोबार भईरहेको छ । यो मूल्य यस अघिको सर्वाधिक उच्च मूल्यको रेकर्डभन्दा ५०० रुपैयाँ मात्रै कम हो । यस अघि सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। हिजो चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कायम भएको छ । सोमवार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । रुस र युक्रेन बीच भएको तनावका कारण पछिल्लो समय सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै उकालो लागेको थियो । आज न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔस १ हजार ९८९ डलर ४२ सेन्टमा झरेको छ ।