चैत ५, कोलम्बो (श्रीलंका) । पछिल्लो समय श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ ।
यसको असर पछिल्लो समय आम श्रीलंकालीहरुको जनजीवनमा देखिन थालेको छ । सरकारसँग विदेशबाट कागज किन्ने पैसा नभएपछि यहाँका लाखौं विद्यार्थीहरुको परीक्षा स्थगित भएको छ । शिक्षा अधिकारीहरुले शनिवार बताएअनुसार चरम कागज अभावका बीच सरकारले सोमवारदेखि शुरु हुन लागेको विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको हो ।
अहिले श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । ‘प्रिन्टरहरुले आवश्यक कागज र मसी आयातका लागि विदेशी मुद्राको जोहो गर्न नसकेपछि विद्यालयका प्राध्यानाध्यपकहरुले परीक्षा सञ्चालन गर्न सकेनन्’, पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ ।
पछिल्लो निर्णयका कारण देशभरका करीब ४५ लाख विद्यार्थीका परीक्षा सञ्चालन प्रभावित हुन सक्ने सरकारी स्रोतको भनाइ छ । यो भनेको त्यहाँको कुल विद्यार्थीको झन्डै दुई तिहाई हो । श्रीलंकाले यस वर्ष करीब ७ अर्ब डलर कर्जाको पुनः भुक्तानी गर्नु पर्नेछ । तर उसँग फेब्रुअरीको अन्त्यमा २ अर्ब ३० करोड डलरमात्रै विदेशी विनिमय सञ्चित रहेको बताइएको छ ।
विदेशी मुद्रा सञ्चिति रित्तिदै गएपछि अहिले श्रीलंकामा खाद्यान्न, इन्धन र औषधिको समेत चरम अभाव उत्पन्न भएको छ । सरकारले विजुली कटौती गरिरहेको छ भने दूधको धुलो, चिनी, दाल र चामलमा कोटा लागू गरेपछि देशभर पसलहरुमा मानिसहरुको लामो लाइन लाग्न थालेको छ ।
श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षले बुधवार आर्थिक संकट र वैदेशिक ऋणबारे छलफलका लागि अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) सँग अनुरोध गरेका छन् । आईएमएफले राजापाक्षको अनुरोधमाथि छलफल गरिरहेको बताएको छ । एजेन्सी