काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन् । शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् ।
उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन् । शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसकेको उनको भनाइ छ । सरकारले दिइरहेको छात्रवृत्ति र सहुलियत कसले पाउँछ भन्नेबारे पनि थाहा नहुने गरी काम भइरहेकोमा आपत्ति जनाइन् । उनले आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताइन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने जिकिर गरिन् । उनले नागरिकलाई गास, बास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरू एउटा कुर्सी भिडेर बसिरहेको बताइन् । उनले सरकारमा बस्ने सबै व्यापारीहरू रहेको उल्लेख गरिन् ।