भदौ २२, काठडमाडौं । नेपाल हाते कागज संघले एनएमवि बैंकको सहकार्यमा हालै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
उक्त बैंकले कुन- कुन सेवा सुविधा उपलब्ध गराउन सक्छ र अप्ठेरो परेको बेला आर्थिक रुपमा कसरी सबलीकरण गर्न सहयोग पुर्याउँछ भन्ने विषयमा आयोजित कार्यक्रममा नेपाल हाते कागज संघका अध्यक्ष किरण कुमार डंगोलले संघले आफ्ना सदस्यको व्यावसायिक उन्नतिका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको कुरा बताए ।
उनले हस्तकला क्षेत्रका विभिन्न वस्तुहरुमध्ये हाते कागजको उत्पादनमा स्थानीय कच्चा पदार्थ र श्रम तथा सीपको करीब ९० प्रतिशत उपयोग हुने भएकोले देशको अर्थतन्त्रलाई टेवा दिन विशेष योगदान पुर्याउँदै आएको बताए ।
कोरोना महामारीको कारणबाट आर्थिक रुपमा कमजोर भई उत्पादन एवं व्यापार गर्नका लागि विभिन्न कठिनाइ भोग्नु परेकोले आगामी दिनमा कसरी अघि बढ्न सक्छौं भन्ने विषयमा केन्द्रित भएको भन्दै उनले बैंकले कोभिडबाट असर परेका व्यवसायलाई लक्ष्यित गरी विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको बताए ।
कार्यक्रममा एनएमवि बैंकका वरिष्ठ क्षेत्रीय प्रबन्धक राजेन्द्र रञ्जितले कोभिडको कारणले सिथिल भएका उद्यमी र व्यवसायीलाई के - कस्तो सेवा उपलब्ध गराएर उत्पादन र व्यापारलाई सुचारु तथा सक्रिय गराउन सकिन्छ भन्ने विषयमा छलफल गराउन चाहेको बताए ।
कार्यक्रममा बैंकको ठमेल शाखाका व्यवसाय विकास मेनेजर रुचि श्रेष्ठ तथा रिलेसनसिप मेनेजर दीपक बस्नेतले बैंकले उत्पादनकर्ता तथा निर्यातकर्ताहरुका लागि उपयोगी हुने आर्थिक सेवा तथा सुविधाका बारेमा विस्तृत रुपमा जानकारी दिएका थिए ।
उनीहरुले ऋणका विभिन्न प्रकारका बारेमा जानकारी दिंदै नेपाल राष्ट बैंकको निर्देशन अनुसार विना धितो कर्जा उपलब्ध गराउँदै आएकोले त्यसबाट पनि लाभ लिन सकिने कुरा बताएका थिए ।
कार्यक्रममा नेपाल हाते कागज संघका उपाध्यक्ष राधाकृष्ण धौभडेलले वर्तमान विषम परिस्थितिको सामना गर्नुपर्ने बाध्यता सबैको रहेको भन्दै यस्तो अवस्थामा व्यवसाय कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता रहेको अवस्थामा बैंक र व्यवसायी बीच भएको छलफलले केही हदसम्म निकास दिने विश्वास लिएको बताए ।
कार्यक्रममा हातेकागज संघका २८ जना सदस्यहरुको सहभागिता रहेको थियो ।