रू रू जलविद्युतको आईपीओले पहिलो कारोबारका लागि नेप्सेबाट कति पाउला त मूल्य रेञ्ज ?

वैशाख ५, काठमाडौं । रू रू जलविद्युत् परियोजनाको पहिलो शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  रू. ११८ दशमलव ८४ देखि रू. ३५६ दशमलव ५२ सम्मको मूल्य रेञ्ज तोक्नसक्ने देखिएको छ ।  दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ रहेको छ । सोही प्रतिशेयर नेटवर्थलाई आधार मानेर नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि मूल्य तय गर्नेछ । उक्त कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी बैशाख ३ गते बाँडफाँट गरेको हो ।  यो आईपीओमा १६ लाख ८३ हजार १२१ जनाबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेको थियो । जसमध्य ८ हजार ५३५ जनाको आवेदन रितपूर्वक नभएकाले रद्ध गरिएको थियो । १५ लाख ९० हजार ८९६ जना योग्य आवेदकहरुमा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा ३७ हजार ९१६ जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।  कम्पनीले प्रिमियमसहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा भने कम्पनीले न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको थियो । हाल रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुगेको छ । कम्पनीमा संस्थापकको ८० प्रतिशत, आयोजना प्रभावितको १० प्रतिशत र आम सर्वसाधारणको १० प्रतिशत शेयर स्वामित्व रहेको छ ।