कात्तिक ३०, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
मंगलवार सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमाकोष १११ दशमलव ४०% ले वृद्धि भएर ४ अर्ब २४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोहीअवधिमा कम्पनीको जीवन बीमा कोष २ अर्ब ८२ लाख रुपैयाँ रहेको थियो ।
जीवन बीमा कोषको वृद्धिसँगै कम्पनीले आक्रामक रणनीति अवलम्बन गरेकाले व्यवसाय विस्तारमासमेत शतप्रतिशत वृद्धि गर्न सफल भएको छ । गत आवको असोज मसान्तसम्ममा कुल बीमाशुल्क रु. ६२ करोड ८ लाख संकलन गरेको उक्त कम्पनीले चालू आको सोही अवधिसम्ममा १ अर्ब २४ करोड ३२ लाख रुपैयाँ संकलन गरेको छ ।
समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाख रुपैयाँबाट करीब ४४ प्रतिशतले बढाएर ८५ करोड ३ लाख पुर्याएको छ । यसका साथै कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करीव ५१ प्रतिशतले वृद्धि गरी १६ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।
जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ६ अर्ब ८९ करोड मध्ये करीब ७२ दशमलव ४७% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गरेको छ ।
यो पनि हेर्नुस् :
१५० % ले बढ्यो सिटिजन लाइफको जीवन बीमा कोष
७५ लाख कित्ता आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफको जीवन बीमा कोष १५०% वृद्धि