काठमाडौं । नगदको चरम अभाव भोगिरहेको पाकिस्तानले चीनबाट १ अर्ब डलर पाएको छ । पाकिस्तानी केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ (एसबीपी)लाई उद्धृत गर्दै एरे न्यूज समाचारमा यसबारे उल्लेख छ ।
डलरको चरम अभावबीच चीनको कर्जाले उसलाई ठूलै राहत दिएको छ । चीनलाई कर्जाबापत तिरेको अर्को १ अर्ब ३० करोड डलर पाकिस्तानलाई फिर्ता पनि गरिँदैछ ।
शनिवार पाकिस्तानी अर्थमन्त्री इशाक दारका अनुसार बैंक अफ चाइनालाई चुक्ता गरिएको ३० करोड डलर ऋण तीनदेखि पाँच दिनभित्रै आउने छ । बाँकी १ अर्ब डलर भनेर ५०/५० करोड डलरमा फिर्ता हुने बताइएको छ ।
बहुपक्षीय कर्जादाता निकाय ‘अन्तरराष्ट्रिय मुद्रा कोष’ (आईएमएफ)सँगको ६ अर्ब ७० करोड डलर वित्तीय उद्धारबापत बाँकी रहेको २ अर्ब २० करोड डलर जुन ३० अघि नै फुकुवा गर्न कोषलाई मनाउन पाकिस्तानसँग समय सकिँदै गइरहेको छ ।
आईएफएमबाट पाउनु पर्ने किस्ता पाएन भने पाकिस्तान डिफल्टमा जानेछ । अहिले पाकिस्तानसामु आइएमएफसँग सहमतिमा पुग्न २ हप्ता पनि बाँकी छैन । वित्तीय उद्धार कार्यक्रमको म्याद जुन ३० मा सकिँदैछ ।
पाकिस्तान डिफल्टमा जाने भय चुलिरहँदा चालु आवमा लगभग सबै शीर्ष कर्जा रेटिङ एजेन्सीहरूले पाकिस्तानको कर्जा शाख घटाएका छन् । अर्थतन्त्रको अधिकांश समष्टिगत सूचक नकारात्मक छ भने विदेशी विनिमय सञ्चिति रित्तिँदै गर्दा सार्वभौम कर्जाको साँवा ब्याज तिर्न नसकेर डिफल्टमा जाने खतरा बढेको छ । एजेन्सी