काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको विद्रोही नेकपासँग वार्ता गर्ने सरकारको प्रयास सकारात्मक भएको बताएको छ । कांग्रेसले वार्ताको विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विद्रोहको अन्तत निकास शान्तिपूर्ण राजनीति नै भएकाले वार्ताको प्रयास सकारात्मक भएको बताउनुभयो । तर बदलिदो राजनीतिक घटनाक्रमले एउटा आकार नलिदै वार्ता टोली गठन गरेर प्रचारवाजी मात्रै गर्न खोजिएको भए त्यस किसिमको गल्ति नगर्न सरकारलाई सचेत गराउनुभयो ।
यता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको राजीनामा माग भइरहेको सन्दर्भमा ध्यान अन्यत्र मोड्न वार्ताको प्रपञ्च रचिएको बताएको छ ।
सो समूहका नेता गंगाालाल तुलाधरले सरकारले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउन नभई अहिलेको राजनीतिक घटनाक्रमबाट ध्यान अन्यत्र मोड्नका लागि गरिएको ‘प्रपञ्ज’को संज्ञा दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सुरक्षा थ्रेट छ भन्नु, सर्वोच्च अदालतले मैले भनेजस्तो गर्दिएन भने आन्दोलन गर्छु भन्नु र अहिले वार्ताका लागि टोली गठन गर्नु प्रधानमन्त्रीको विक्षिप्त मानसिकताको श्रृंखलाकै रुपमा आएको टिप्पणी उहाँले गर्नुभयो ।
सर्वोच्च अदालतको फैसलापछि सर्वत्र प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने सर्वत्र चर्चा भईरहेका बेला ध्यान अन्यत्र मोड्नका लागि सरकारले वार्ता टोली गठन गरेको तर्क उहाँले गर्नुभयो । तर उहाँले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउने ढंगले वार्ता टोली गठन गरिएको हो भने त्यसबाट आफुहरु खुसी नै हुने बताउनुभयो ।