दशैँ नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

असोज ९, धरान । कोरोना संक्रमणका कारण दोस्रो चरणको लकडाउनमा बन्द भएको धरान स्थित कृषि उपज बजार स्थलको पशु बजार शुक्रवारबाट खुला गरिएको छ । संक्रमणको जोखिम कायमै रहेपनि दशैँ तिहार नजिकिदै गएपछि सर्वपक्षीय छलफलबाट कृषि बजारको पशु बजार खुला गरिएको हो । खुला गरिएकै दिन कृषि बजारमा खसी बोकाको कारोबार उल्लेख्य रुपमा भएको छ । दशैँको खर्च जोहो गर्ने कृषकहरुले बजार खुल्ला भएको थाहा पाएलगत्तै कोशी पहाडी जिल्लाबाट कृषकहरुले खसी बोका विक्रीका लागि बजार ल्याएका थिए । बजारमा भारतीय व्यापारीहरु आएका छन् ।  पूर्वी पहाडी क्षेत्र तथा सुनसरी र मोरङका कृषकहरुले खसी बोका विक्रीका लागि कृषि बजार नै ल्याउने गरेका छन् । लामो समयदेखि भएको बन्दका कारण दशैँलाई लक्षित गरेर पालिएका खसी बोका विक्री नहुने र चाडपर्व मनाउन नपाइएला भन्ने त्रास उनीहरुमा थियो । तर बजार खुलेसँगै उनीहरु उत्साहित बनेका छन् ।  धनकुटा डाँडाबजारकी विमला राई भन्छिन्, ‘कोरोनाकै कारण यस पटकको दशैँ खल्लो हुने हो कि भन्ने डर थियो, तर अब भने ढुक्क छु, यही खसी बोका पालेर दशैँ मनाउने विचार थियो, त्यो पूरा भयो ।’ उनले ५ ओटा खसी बोका विक्री गर्दा करीब १ लाख रुपैयाँ हातमा समाइन् । मेहनत गरेर चाडपर्वलाई लक्षित गरी पालिएको खसीबोका विक्री गर्न नपाएको भए दशैँ पनि राम्ररी मनाउन नपाइने उनी सुनाउँछिन् । यता व्यापारी पनि दशैका मुखमा आएर खसी बोकाको कारोबार गर्न पाएकोमा खुशी भएका छन् । झापा चन्द्रगढीका चन्द्र खड्काले कृषि बजारको पशु बजार खुल्यो नत्र दशै मनाउन नपाईला जस्तो लागेको बताए ।  धरान १३ कृषि उपज बजारका अनुसार बजार खुला भएको पहिलो शुक्रवार नै खसीबोकाको उल्लेख्य कारोबार भएको जानकारी दिएको छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बजार खुलेको पहिलो शुक्रवार नै १ करोड ६५ लाख बराबरको १५ हजार ७ ओटा खसीबोकाको कारोबार भएको बताए । उनले यो शुक्रवार जिउँदो खसी प्रतिकेजी ५५० रुपैयाँ प्रतिकेजी विक्री भएको बताए । अरु बेला मासिक ६ करोड बराबरको कारोबार हुने यो बजारमा कोरोना संंक्रमणले कारोबार नै प्रभावित बनाएको बताए । उनले भने, ‘विगतको वर्ष जस्तै यो वर्ष पनि कोरोनाकै कारण खसीबोकाको कारोबार प्रभावित बन्ने हो भन्ने डर थियो, तर कोरोना जोखिम केही सहज भएपछि हामीले पशु बजार खोलेका हौ, यो बजार खुलेपछि कृषक तथा व्यापारी सबैभन्दा बढी लाभान्वित भए ।’