काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरियामा काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो ।
विभाग अन्तर्गतको ईपीएस शाखा ग्वार्काेका अनुसार आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुनेछ । परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुनेछ । उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ ।
गतवर्ष भने कोभिडका कारण भाषा परीक्षा हुन सकेको थिएन । सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २१५ जना युवा सहभागी भएका थिए । उनीहरूमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए ।
उत्तीर्ण गरेका मध्येबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो । तर कोरोनाका कारण उनीहरूले प्रवेश पाउन सकेका छैनन् । लामो समयपछि प्रतिबद्ध कामदार भने लैजान शुरू गरेको छ ।
दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए । ३०८ महिलासहित ६ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २००९ मा भने भाषा परीक्षा सञ्चालन हुन सकेन । सो वर्ष अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ९११ युवाले कोरियाको श्रम बजारमा प्रवेश गरेको ईपीएस शाखाको तथ्यांकले देखाउँछ । सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा ६ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा ६ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए । नेपालीहरू मेहनती र इमानदार भएको भन्दै कोरियाली रोजगारदाताको रोजाइमा पर्दै आएका छन् ।