जेठ १७, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले) का नेता विष्णु पौडेलले बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताएका छन् ।
मंगलवार आयोजित बजेटको सैद्धान्तिक छलफलमा उनले बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट घोषणापत्र जस्तै देखिएको दावी गरे ।
उनले आगामी मंसिरमा निर्वाचन गर्नैपर्ने बाध्यात्मक व्यवस्था रहेकाले त्यसअघि ल्याइएको बजेट चुनाव लक्षित भएको बताए । ‘यो बजेट बजेट नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो छ,’ उनले भने, ‘मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याइएको दस्तावेज जस्तो देखिन्छ ।’
उनले पाँच महीना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी पनि गरेका छन् ।
पूर्वअर्थमन्त्री पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाए । आर्थिक संकटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उनको भनाइ थियो । उनले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाए ।