स्वास्थ्य पर्यटनको केन्द्र बन्दै भरतपुर

चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो । सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र यहाँका २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन् । शिक्षक अस्पताल यही बन्ने भएको छ । सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार दैनिक बहिरङ्ग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन् । तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उनको भनाइ छ । नियमित रूपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको सङ्ख्या ५०० हाराहारी छ । ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् । वार्षिक रूपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन् । गौतमले भने, ‘अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ ।’ क्यान्सर अस्पतालकै कारण अस्पताल वरिपरि १५० भन्दा बढी साना ठूला होटल रेष्टुराँ चलेका छन् । जिल्लाका अग्रज होटल व्यवसायी दिनेशकुमार चुकेका अनुसार क्यान्सर अगाडिका होटलमा मात्रै ५०० भन्दा बढी बेड छन् । त्यही आउने बिरामी र कुरुवाले ती होटल चलेका छन् । त्यहाँ आफै पकाएर खाने गरी पनि व्यवस्थापन गरिँदै आएको छ । भरतपुर क्षेत्रमा ६०० हाराहारी होटल रेष्टुराँ रहेको भन्दै उनले ती होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेको बताए । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका चुकेले यहाँको स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताए । रासस