बीपी कोइराला एउटै व्यक्तिमा दुइटा व्यक्तित्व भएको असाधारण प्रतिभा हुनुहुन्थ्यो । गहिरिएर हेर्दा उहाँको राजनीति र साहित्यमा कुन व्यक्तित्वले जित्ला ? यसतर्फ खास बहस भएको पाइँदैन । त्यसो त साहित्य र राजनीतिमा पृथक् व्यक्तित्वको उपस्थिति भए पनि ती दुई व्यक्तित्वमा तुलना गर्न सकिने ठाउँ नै छोडिदिनुभएको छैन उहाँले । उहाँको स्पष्ट मान्यता थियो, “साहित्य मृत्युञ्जय हुन्छ भने राजनीति समयको अपरिहार्यता मात्रै ।” राजनीतिलाई इतिहाससँग जोडेर पनि उहाँले भन्नुभएको छ, “राजनीतिमा मानिसको स्मरणशक्ति क्षणिक हुन्छ । शीघ्रताका साथ राजनीतिक दृश्य बदलिँदै जान्छन्, नयाँ परिस्थिति र नयाँ समस्याले मानिसको ध्यान नयाँ कुरापट्टि आकर्षित गरिरहन्छन् र अघिल्ला समस्या छिट्छिटै बिर्सिंदै जान्छन् तर इतिहासले भने सबैको सन्तुलित लेखाजोखा राख्छ, त्यसको स्मरणशक्ति लामो हुन्छ ।”