चैत ४, काठमाडौं । वसन्त ऋतु आगमनसंगै गर्मी बढ्दो छ । मौसम परिवर्तनसँगै घरभित्र र बाहिरी वातावरणमा पनि विभिन्न प्रभाव पर्छन् । खासगरी गर्मी मौसममा कीराको बिगबिगी बढ्ने गर्दछ । घरका कोठामा भान्सादेखि बाथरुम र ध्यान नपुग्ने कुनादेखि सिलिङजस्ता ठाउँमा समेत विभिन्न थरी कीरा बास बसेर दु:ख दिने गर्छन् । घर बाहिर बगैंचा, करेसा बारी, पार्किङ आदि ठाउँमा पनि ढुसी, खुम्ले कीरा, पुतली आदि कीरा–फट्यांग्राले सताउँछन् ।
घरका विभिन्न भागमा यस्ता कीटपतंगले डेरा जमाउनाले घरलाई फोहोर र कुरूप बनाउनुका साथै हामीले खाने खाना, पिउने पानी र प्रयोगमा आउने अन्य सामग्रीको संसर्गमा पुग्नाले तिनलाई प्रदूषित बनाई विभिन्न रोग भित्र्याउने खतरा रहन्छ । घरमा साना बालबच्चा छन् भने उनीहरू सजिलै तिनको सम्पर्कमा पुग्न सक्ने र तिनको स्वास्थ्य वयस्कको भन्दा संवेदनशील हुने हुदाँ घरमा कीटपतंगको उपस्थितिलाई रोक्नु झनै जरुरी छ ।
विशेषत: गर्मीयाममा कीटपतंगले बढी सताउने भए पनि तिनको प्रकृतिअनुसार जुनसुकै मौसममा उपस्थिति जनाउन सक्छन् । कीटपतंग नियन्त्रणका लागि बजारमा विभिन्न थरी केमिकलयुक्त विषादी तथा व्यावसायिक नियन्त्रक पनि पाइन्छ । तर, विषादी तथा केमिकलको प्रयोगले ती तत्व लामो समय रहन गई मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने हुँदा त्यस्ता कीराको प्रभावकारी नियन्त्रण कसरी गर्ने भन्ने घरायसी वा केमिकलरहित तरिकाबारे चर्चा गर्दैै छौं । प्राकृतिक र कम हानिकारक उपाय भएसम्म कृत्रिम विषादी प्रयोग नगर्नु वातावरणीय र स्वास्थ्यको दृष्टिले बढी बुद्धिमानी हुन्छ ।
घरको नियमित सरसफाइ गर्नु
घरको नियमित सरसफाइ सबैले गर्छौं, गरिरहेका हुन्छौं । गर्मी तथा बर्खाको समय सरसफाइमा अझ विशेष ध्यान दिनु जरुरी छ । हत्तपत्त ध्यान नपुग्ने कुना, भान्सा तथा बाथरुमको सिंकको तलको भाग तथा कमोड वरिपरि, खाली रहेको खोपा, फ्रिज तथा वासिङ मेसिनजस्ता ठूला सामानको पछाडि आदि ठाउँमा पनि नियमित सरसफाइ गर्नाले ती ठाउँमा कीटपतंग बस्न सक्दैनन् ।
पानी जम्न नदिने
घरको छतको लेबल नमिलेर पानी जम्ने स्थान, कुनै भाँडामा खुलै रहन गएको पानी, बाथरुम वा घर बाहिर वर्षापछि खाल्डाखुल्डीमा जम्ने पानी आदिलाई तत्कालै हटाएर सुक्खा राख्ने गर्नुपर्दछ । फोहोर र जमेको पानी धेरै थरी कीराका लागि बस्ने उपयुक्त ठाउँ हुन् ।
खाद्यवस्तुको उचित भण्डारण
सागसब्जी र फलफूललाई लामो समय खुल्ला राख्नाले कीटपतंग आकर्षित हुने गर्छन् । त्यसैले सागसब्जी र फलफूललाई उपयुक्त भाँडामा छोपेर राख्ने गर्नुपर्छ । अन्य खाद्य पदार्थलाई पनि सही ठाउँमा भण्डार गर्नुपर्छ । भण्डारण गर्दा कुनै पनि सामग्री खुला राख्नुहुँदैन । घरभित्र आवश्यक नहुने सामग्री बाहिरै राख्ने व्यवस्था गनुपर्छ ।
फोहोरको उचित व्यवस्थापन
घरमा उब्जिने फोहोर संकलनका लागि निश्चित ठाउँ तय गर्नु जरुरी हुन्छ । फोहोरलाई नियमित विसर्जन गर्नु पनि त्यत्तिकै आवश्यक हुन्छ । फोहोर लामो समय रहन गए त्यहाँ कीरा हुर्किन थाल्छन् भने बाहिरबाट पनि कीटपतंग आउन थाल्छन् ।
बगैंचाको हेरचाह
घर कम्पाउन्डमा सागसब्जी, फलफूलको बगैंचा वा गमला छन् भने नियमित र एक–एक गरी सरसफाइ र हेरचाह गर्नुपर्छ । नियमित हेरचाह गरिएको बगैंचामा पुतली, खुम्ले कीरा आदि जीवले सताउने डर कम हुन्छ ।
जैविक कीटनाशकको प्रयोग
कीटपतंग निरुत्साहित गर्न गरिएका उपायका बाबजुद पनि कीराफट्यांग्राले सताउन थाले बजारमा पाइने केमिकलयुक्त विषादीको विकल्पमा पाइने प्राकृतिक कीटनाशक खरिद गर्न सकिन्छ । कृषि सामग्री, बिउबिजन पाइने पसलमा निमको तेल पाइन्छ । त्यसलाई प्राकृतिक रूपमै कीटाणु नाशकको रूपमा लिइन्छ । त्यसमा उचित मात्रामा पानी मिलाएर बगैंचा वा घरको अन्य स्थानमा छर्किनाले कीटपतंग नियन्त्रणमा ठूलो सहयोग गर्दछ । त्यस्तै, बगैंचा वा गमलामा अन्य बोटबिरुवाको साथमा तुलसी, लेमनग्रास, तितेपाती, बाबरी आदि पनि रोप्न सकिन्छ । लेमनग्रासको नजिक लामखुट्टे आउँदैन भने बाबरी, तुलसी पनि कीटपतंगमैत्री वनस्पति होइनन् ।