धरान । केही दिनअघिको वर्षाले सुनसरीको विष्णुपादुका क्षेत्रका डाँडा भासिन थालेपछि राष्ट्रिय गौरवका योजनासहित पर्यटकीय पूर्वाधार जोखिममा परेका छन् । विष्णुपादुका–२० बाट विस्तार गरिएको २२० केभी प्रसारण लाइन अन्तर्गत चिण्डेडाँडा हुँदै सुलिकोट र तामाखाम जाने चोकमा रहेको टावर पहिरोको जोखिममा परेको छ । यस्तै पर्यटक प्रवद्र्धनका लागि निर्माण गरिएको सेक्ष एड्भेञ्चर पार्कमा पनि पहिरोले क्षति पुग्ने खतरा देखिएको छ ।
पार्कका सञ्चालक वासुदेव बरालका अनुसार टावर राखिएको स्थान भासिँदै गएको छ भने कच्ची सडक पनि चिरा परेर पहिरो जाने सम्भावना बढेको छ । त्यसकै तल्लो भागमा रहेको पार्क जोखिममा रहेको छ । बरालका अनुसार उक्त स्थानमा टावर निर्माण गर्दा एउटा डाँडा काटिएको थियो । डाँडा काटेर ठड्याइएको प्रसारण लाइनको टावर जोगाउन पक्की वाल निर्माण गरिएको छ । उक्त वाललाई पनि जोगाउन ग्याबिन वाल बनाइएको छ ।
ग्याबिन वालको छेउमा रहेको माटोको थुप्रो भारलाई ग्याबिन वालले थेग्न नसकेर भत्कन शुरू गरेको उनले बताए । ‘बाटो चिरा चिरा परेको छ भने ग्याबिन वालले ठाउँ छोडेर खस्नै लागेको छ, यो पूरै खस्यो भने तल रहेको सेक्ष एड्भेञ्चर पार्कमा ठूलो क्षति पुग्छ,’ उनले भने । तुरुन्त रोकथाम गर्न नसकिए टावरको संरचना, कम्पाउण्ड वाल सबै भत्किने उनले बताए । ठूलो पानी पर्दा ग्याबिन वाल भत्किएर खस्ने खतरा रहेको भन्दै उनले सम्बन्धित निकायले चाँडो ध्यान दिन पनि आग्रह गरे ।
सेक्ष एड्भेञ्चरले जोखिम न्यूनीकरणका लागि उपमहानगरपालिकामा निवेदन दिए पनि हालसम्म कुनै प्रयास नभएको उनी बताउँछन् । केही दिनअघि वडाअध्यक्ष, सदस्यहरू अवलोकन गर्न आउँदा जालीको ढुंगाहरू निकालेर भार कम गर्ने भने पनि थप पहल नभएको उनले गुनासो गरेका छन् ।