नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष तथा शेयर लगानीकर्ता छोटेलाल रौनियारले बजेटमा लगानीकर्ताहरुले अलि बढी नै आशा गरेको तर ति सम्बोधन भएको बताएका छन् । यद्यपि उनले सार्वजनिक भएका बुँदाहरु कार्यन्वयन भएमा त्यसले पुँजीबजारलाई राम्रै गर्ने उल्लेख गरेका छन् ।एनआरएनलाई पुँजीबजारमा ल्याउने घोषणा, विदेशमा रहेका नेपालीलाई आईपिओमा आरक्षण दिने घोषणा तथा निश्चित पुँजी भएका कम्पनीहरु आईपिओमा जानै पर्ने ब्यबस्थाले बजारलाई राम्रै गर्ने उनले बताए । आईपिओको आरक्षणले विदेशमा रहेका ६० लाख नेपालीलाई बजारमा प्रवेश गराउन सकिने, एनआरएन मार्फत ठूलो पुँजी परिचालन गर्न सकिने र नयाँ कम्पनीहरुको आईपिओ आउने ब्यबस्थाले बजारलाई सकारात्मक बनाउने उनको भनाई छ । यद्यपि त्यस्ता कम्पनीले आईपिओ निष्काशन गर्दा पुँजीको कम्तिमा ३० प्रतिशत निष्काशन गर्नु पर्ने अन्यथा बजारमा कर्नरिंग हुनेतर्फ उनले सचेत गराएका छन् । त्यस्तै एनआरएनको विषय पटक पटक आउने गरेको भए पनि यस पटक भने नतिजा देखिने उनको अपेक्षा छ । त्यस्तै बजेट मार्फत लाभकर घट्ने अपेक्षा गरिए पनि सो भने पुरा नभएको उनको भनाई छ ।