माघ १७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रू. ७ करोड ४९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष कम्पनीको खुद नाफा १० दशमलव १० प्रतिशत बढी भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा १३ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ८ करोड ७९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. १० करोड १ लाखभन्दा बढी यो नाफा गरेको हो ।
गत वर्षभन्दा ३२ प्रतिशत बढी अर्थात् रू. ४ करोड २ लाख विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीको कुल आम्दानी १७ प्रतिशत बढेको छ । गत वर्ष रू. ९ करोड ५७ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ११ करोड २१ लाखभन्दा बढी गरेको छ ।
हकप्रद र बोनस शेयर मार्फत् पूँजी वृद्धि गरी रू. १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ६ दशमलव ३३ प्रतिशत कम अर्थात् रू. १३ करोड ५२ लाख कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव ८२ छ ।