नेपालले गरीबी निवारणमा जति पहल गरेको छ त्यसअनुसार प्रतिफल छैन । मुलुक स्रोतमा धनी छ । तर, तिनको उपयोग हुन सकेको छैन । त्यही भएर गरीबी निवारणमा अपेक्षित सफलता हासिल हुन सकेको छैन ।
कोरोनाका कारण गरीबी थपिएको थियो । अहिलेको आर्थिक समस्याले झनै गरीबी थपेको अनुमान छ । नेपालका लागि गरीबी प्रमुख चुनौती भए पनि यसको निवारणमा काम कम कुरा बढी भएको पाइन्छ ।
नेपालमा राजनीतिज्ञ र कर्मचारीले काम नगर्ने, गरे पनि निजी स्वार्थ हेरेर गर्ने गरेका छन् । यही कारण विकासले गति लिन नसकेको हो । मर्यादा र नैतिकताको पालना हुने समाजमा कानून नै नचाहिने पनि हुन सक्छ । तर नेपालमा भने कानून भएर पनि लागू नभएको अवस्था छ । यसले नेपालको अवस्थालाई देखाउँछ ।
त्यसैले मुलुकमा राजनीति र प्रशासनमा दण्डहीनता हाबी भएको छ । गरिबी न्यूनीकरण र समृद्धि नारामात्रै बनेको छ । गरीबी निवारणभन्दा पनि गरीबीको पहिचान गर्न समस्या बढी देखिएको छ ।
नेपालका शुरूका आवधिक योजनाहरूले अप्रत्यक्ष रूपमा गरिबी न्यूनीकरणका कार्यक्रमहरू ल्याएको थियो । तर ती काम प्रभावकारी ढंगमा अघि बढेनन् । कसैले पनि जिम्मेवारी नलिँदा मुलुकमा अझै पनि १८.७ प्रतिशत जनता गरीबीको रेखामुनि रहेका छन् ।
निजामती सेवा लगायत अन्य सरकारी सेवाको आरक्षणमा पनि विपन्न वर्गले लाभ लिन सकेको छैन । लक्षित समुदायका सम्भ्रान्त वर्गले मात्र दोहोर्याई तेहेर्याई लाभ लिइरहेका छन् । गरीबी निवारणका लागि हामीले सधैं सपना मात्र देखेर हुँदैन, काम गर्नुपर्छ ।
मोहन तिम्सिना
कोटेश्वर काठमाडौं ।