अर्थमन्त्री पार्टीमा व्यस्त, अर्थतन्त्र अस्तव्यस्त

जनार्दन शर्मा अर्थमन्त्री भएको ६ महिना पुग्नै लाग्यो । तर, आर्थिक वर्षको आधा समय बितिसक्दा पनि कुनै खास ‘रिजल्ट’ उनले देखाउन सकेका छैनन् । युवा जोश र नयाँ कार्यक्रमसहित प्रस्तुत हुन्छन् भनेर युवा पुस्ताहरुले उनको ‘इन्ट्री’मा राम्रै अपेक्षा राखेका थिए ।ठिक विपरित, नेपालका उद्योगी व्यवसायीले भने जनार्दन अर्थमन्त्रीमा नियुक्त हुँदा कुनै पनि आशा राखेका थिएनन् । एक त अर्थतन्त्रका सम्बन्धमा जानकार नरहेको र अर्को उद्यम व्यवसायका क्षेत्रमा काम नगरेको हुनाले जनार्दन शर्माबाट उनीहरुले कुनै नौलो सुरुवाताको अपेक्षा नगरेपनि चलिरहेको ‘चेन’ नबिग्रियोस् भन्ने कामना गरेका थिए ।तर, जनार्दन शर्माले प्रतिस्थापन विधेयकका नाममा जेठ १५ मा प्रस्तुत भएको बजेटको सट्टा अर्को बजेट ल्याए । बजेटमा प्रस्तुत भएका कार्यक्रम नौला र सुनौला थिएनन् । यद्यपी, कार्यान्वयन हुँदा अर्थतन्त्रलाई घाटा हुने खालका पनि थिएनन् । तर, कार्यान्वयन पक्ष अत्यन्त कमजोर बन्यो ।गल्ती नस्वीकार्ने, अरुलाई दोष देखाउनेअर्थतन्त्र अहिले संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने कुनैपनि सूचक सकारात्मक छैनन् । चालु खाता घाटामा छ । भुक्तानी असन्तुलन बढ्दो छ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने रेमिट्यान्स ओरालो लागेको छ । ५.३२ प्रतिशतले महँगी बढेको छ । वित्तीय प्रणालीमा तरलता अभाव छ । तर, यी सब हुनुको पछाडी अर्थमन्त्री शर्मा आफ्नो कुनै भूमीका छैन भन्छन् । उनको प्रस्तुत हुने शैली पनि २ तरिकाको छ । एकातिर, अर्थतन्त्रमा समस्या छैन पनि भन्छन्, अर्कोतिर अघिल्लो सरकारको कमजोरीका कारण अहिले समस्या आएको पनि भन्छन् । पार्टीको काममा व्यस्तअर्थमन्त्री जनार्दन शर्मा अहिले माओवादी केन्द्रको महाधिवेशनमा व्यस्त छन् । महासचिवको मुख्य दाबेदार मानिएका उनी अध्यक्ष प्रचण्डको पनि प्यारो पात्र हुन् । वर्षमान पुनसँगको आन्तरिक राजनीतिक लडाईमा विजयी हुने दाउमा उनी बेला बेला ‘प्रचण्ड पथ’ ब्यूताउँनुपर्छ भन्ने अभिव्यक्ति दिँदै हिड्ने पनि गरेका छन् ।मन्त्री हुनासाथ उनले सचिव शिशिर कुमार ढुंगानालाई हटाईदिए । लामो समयदेखि अर्थ मन्त्रालयको वरपर रहेर २ आर्थिक वर्षको बजेट लेखनमा निर्णायक भूमीका निर्वाह गरेका ढुंगानालाई हटाएपछि जनार्दनको ‘ओरालो यात्रा’ सुरु भएको विश्लेषण हुन थालेको छ ।अहिलेका अर्थसचिव मधु कुमार मरासिनी पनि कम क्षमता भएका होइनन् । तर, प्राविधिक तर्फको उत्पादन भएकाले उनको भूमीका हस्तक्षेपकारी हुन सकेको छैन । विकास बजेट खर्चको सन्दर्भमा अर्थ मन्त्रालयको मात्रै हात नहुने तर्क मन्त्री र सचिवको एकै खालको छ ।त्यसकारण मन्त्रीको भौतिक उपस्थिती मन्त्रालयमा कम हुने गरेको छ । मन्त्रीकै ‘ट्युनिङ’सँग मिल्ने तर्क सचिवबाटै आउने भएपछि सरकारी खर्चमा पार्टीको काममा दौडिन जनार्दन शर्मालाई फुर्सद मिलेको छ ।