लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको टुरिजम मार्ट

काठमाडौँ : पश्चिम नेपालको पर्यटन विकासका लागि बाँकेको नेपालगञ्जमा ‘वेष्टर्न टुरिजम मार्ट’ हुँदैछ । बिहीबारदेखि नेपालगञ्जमा सुरु हुने मार्टमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पर्यटन क्षेत्रको प्रचारप्रचार, नयाँ गन्तव्यको खोजी र सरोकारवालाबीच अन्तरक्रिया हुनेछ । नेपालगञ्जमा हुने टुरिजम मार्टलाई नेपाल पर्यटन बोर्ड, नाट्टा, हान लगायत संघ संस्थाले आयोजना गरेका हुन् । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका […]

सम्बन्धित सामग्री

सीमाक्षेत्र लक्षित पर्यटन प्रवर्द्धनका लागि ‘टुरिजम ट्राभल मार्ट’ शुरू

काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले मुलुकभरका सातओटै प्रदेशमा चरणबद्ध रूपमा ‘टुरिजम ट्राभल मार्ट’ कार्यक्रम शुरू गरेको छ । पहिलो चरणमा बोर्डले फागुन २६ देखि २८ गतेसम्म नेपालगञ्जमा सीमाक्षेत्र लक्षित ‘वेस्टर्न टुरिजम ट्राभल मार्ट’ आयोजना गरिसकेको छ । दोस्रो चरणमा चैत ११ देखि १३ गतेसम्म धरानमा ‘इस्टर्न टुरिजम ट्राभल मार्ट’ आयोजना गरिने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न ‘टुरिजम ट्राभल मार्ट’ अवधारणा अघि सारेर कार्यान्वयन गरिएको बताएका छन् । विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यावसायिक गतिविधिको विकास, विस्तार र अन्तरराष्ट्रिय स्रोत–बजारका टुर–अपरेटरहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।   बोर्डले चालू आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम अनुसार यी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिको प्रवर्द्धन गर्न बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा फागुनमा नेपालगञ्जमा यस्तो मार्ट गरिएको छ । यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ मा सो कार्यक्रम गरिने उनले जानकारी दिए । यस्तै धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमो चैत २५, २६ र २७ गते ‘फारवेष्ट टुरिजम ट्राभल मार्ट’ आयोजना गरिने उनले बताए । ‘इस्टर्न टुरिजम मार्ट’का संयोजक भवेशकुमार श्रेष्ठले प्रदेश १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यको राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने उद्देश्य कार्यक्रमको रहेको बताए । धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आएको र यसपटक तेस्रो संस्करण भएको जानकारी उनले दिए । सो अवसरमा धनगढीमा आयोजना हुने मार्टमा ‘सुन्दर सुदूरपश्चिम–शुक्लादेखि अपी/साइपल’ ब्रान्डिङ गरी सुदूरपश्चिमको प्रवर्द्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए । बोर्डका अनुसार मार्टहरूमा सीमावर्ती भारतीय शहरका टुर अपरेटरहरूलाई खरीदकर्ताको रूपमा सहभागी गराइनेछ । साथै नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरूबीच यी क्षेत्रका टुर प्याकेजहरू विक्री प्रवर्द्धन गर्ने विषयमा व्यावसायिक अन्तरक्रिया हुनेछ । यी मार्टमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरूले आकर्षक स्टलका साथ प्याकेजहरूको प्रवर्द्धन गर्न सक्ने ऐरले बताए । स्थानीय सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति र फुड स्टलहरू मार्टको आकर्षणका रूपमा रहनेछन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षण झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिबीच टुर प्याकेजको आदानप्रदान समेत हुने बोेर्डले बताएको छ ।