एक्काइस वर्ष नौ महीना भारतीय सेनाको जागिरबाट अवकाश पाएर स्वदेश फर्किंदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको मनमा खेल प्रशिक्षक बन्ने सपना थियो ।
उहाँ गोर्खा सैनिकमा रहँदा ‘स्विमिङ’ र ‘डाइभिङ’ खेलमा भारतका राष्ट्रिय प्रतियोगितामा विजेता समेत बन्नुभएको थियो । बैसठ्ठी वर्षीय उहाँले सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमन वेल्थ, १९८२ को दिल्लीको नवौँ र १९८६ मा दक्षिण कोरियामा भएको एघारौँ एशियाली खेलमा पदक दिलाउनुभएको थियो ।
सन् १९७५ देखि ७९, ८१, ८२ र ८६ को राष्ट्रिय खेलकूद प्रतियोगिताको स्वर्ण पदक जितेका उहाँले १० वर्षसम्म भारतको राष्ट्रिय पौडी प्रशिक्षकको भूमिका समेत निर्वाह गर्नुभएको थियो । “जनताको सेवा गरौँ भनेर राजनीतिमा हाम फालेर गाउँपालिकाको अध्यक्ष त बनेँ, राम्रो गरौँ भनेर लागेको छु”, उहाँले भन्नुभयो, “तर मेरा पदक कुना परेका छन् । विगत सम्झँदा र कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ ।”
भारतमा राम्रो तलब सुविधासहित पौडी प्रशिक्षकको रोजाइ छाडेर स्वदेश फर्किएका उहाँले पोखरामा भएको दोस्रो र वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय प्रतियोगितामा तत्कालीन गण्डकी अञ्चलबाट सहभागी भएर स्वर्ण पदक दिलाउनुभयो ।
“पौडी र गोटाखोरको प्रशिक्षक बनेर सिप सिकाउने सपना थियो तर अवसर पाइन”, उहाँ भन्नुहुन्छ, “परिस्थितिले राजनीतिमा ल्यायो, पद पनि दिलायो । नेपालमा पौडी खेलको विकासमा योगदान गर्ने रहर पूरा भएको छैन ।”
विभिन्न प्रतियोगितामा पाएका पदक र प्रमाणपत्रले एउटा सानो प्लास्टिकको झोला भरिएको छ । फुर्सद हुँदा पदक र प्रमाणपत्र हेरेर विगत सम्झने उहाँ खेलकूदको विकासमार्फत देशलाई चिनाउन गाउँपालिकाबाट खेल प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिएको बताउनुहुन्छ ।