उदयपुरको ऐतिहासिक क्षेत्र चौदण्डीगढीमा पर्यटकको आगमन बढ्दै

मंसिर ७, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । मंसिर लागेपछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । गतवर्ष चैतदेखि यस वर्ष कात्तिकसम्म कोभिड–१९ संक्रमण महामारी र लकडाउनका कारण पर्यटन आगमन ठप्प भएको सो क्षेत्रमा विस्तारै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका चौदण्डी पर्यटन विकास व्यवस्थापन समितिका संयोजक रोहित तामाङले बताए ।  कोभिड–१९ का कारण लामो समयदेखि उक्त क्षेत्रमा पर्यटक आगमन ठप्प थियो । छिमेकी भारतबाट समेत पर्यटक चौदण्डीको भ्रमणमा आउन थालेको संयोजक तामाङले बताए । चौदण्डीगढी नपाका प्रमुख खगेन्द्र राईका अनुसार चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधारका सम्पूर्ण काम निर्माण तथा व्यवस्थापन भइसकेका कारण पर्यटकलाई आवतजावत गर्न सहज भएको हो । ‘अब पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ’, उनले भने । चौदण्डीमा भ्यूटावर, खानेपानीसहित सडक व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ । त्यसैले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।  नगरपालिकाले प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गर्दै चौदण्डीको पर्यटन विकासमा नयाँ योजना सञ्चालन गरेको नगरप्रमुख राईले बताए । समुद्री सतहबाट एक हजार ८०० मिटर उचाइमा अवस्थित चौदण्डीगढीबाट उत्तरी क्षेत्रको महत्वपूर्ण आठ हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । यहाँबाट प्रदेश नं १ को धनकुटा, भोजपुर, खोटाङ र संखुवासभाको अवलोकन गर्न सकिन्छ ।  यस्तै तराईका सुनसरी, झापा, मोरङ, सप्तरी र सिरहाका साथै सप्तकोशी नदीको सुन्दर दृश्य र दक्षिण भारतको विहार क्षेत्रसहित वीरपुर, सुपौलाको अवलोकन गर्न सकिने संयोजक तामाङ बताउँछन् ।  सन् १७७३ सम्म ऐतिहासिकरूपमा पूर्वकै सेनवंशको राजधानी र राज्य रहेको उदयपुरको पूर्वी पहाडी क्षेत्र चौदण्डीगढीमा केही वर्षयतादेखि पर्यटन विकासको पूर्वाधार तीव्ररूपमा तयार हुँदै गएको छ ।  विगतमा चौदण्डीगढीमा रहेका सेनराजाका दरबारको पर्खाल तथा महत्वपूर्ण वस्तुका भग्नावशेषको संरक्षण र दरबार क्षेत्र वरपर घेराबेरा गरेर यसलाई अझ व्यवस्थित बनाउने तथा दरबार परिसरको संरक्षणसमेत भइरहेको छ ।  सन् १७७१ सम्म पूर्वका चौदण्डी, विजयपुर र कमला क्षेत्रसम्म एउटै चौदण्डी सेनराज्य रहेको पूर्वप्रध्यापक डा अपार लम्साल बताउँछन् । सन् १६७१ मा पूर्वको सेनराज्य विभाजनपछि विजयपुर र चौदण्डीगढीमा विभाजित भई चौदण्डीगढी राज्य रहन गएको इतिहासविद् बताउँछन् । चौदण्डीका पहिला राजा जगत सेन थिए भने त्यसपछि विक्रम सेन, मुकुन्दसेन तृतीय र चौथौ अन्तिम राजा बुद्धिकर्ण सेन रहेको इतिहास छ ।  सन् १६ जुलाई १७७३ मा गोर्खाका राजा पृथ्वीनारायण शाहको फौजका अभिमानसिंह बस्नेत, स्वरुपसिंह कार्कीलगायतको नेतृत्वमा चौदण्डीगढीमा आक्रमण गरी नेपालमा गाभिएको इतिहास छ ।  कोभिड संक्रमणका कारण पर्यटन विकासका केही अधुरा काम बाँकी रहेको र पर्यटक आगमन बन्द हुन पुगे पनि मंसिर लागेसँगै पर्यटकको संख्यामा वृद्धि हुन थालेको चौदण्डी नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले बताए । रासस 

सम्बन्धित सामग्री

कोरोना कहर बढ्दै : सुनसान बन्दै पर्यटकीय स्थल

सुनसरी । कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र बढ्दै गएपछि प्रशासनले भीडभाड हुने स्थानमा रोक लगाएको छ । यसले प्रदेश १ का पर्यटकीय स्थल पुनः सुनसान बन्दै गएका छन् । केही महीना अघिदेखि चलायमान देखिन थालेका पर्यटकीय क्षेत्र पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढ्दै गएपछि सुनसान हुन थालेका हुन् । कोरोना महामारीको सन्त्रास बढ्दै गएपछि सरकारले गरेको कडाइका कारण प्रदेशका पर्यटन गन्तव्यहरूमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएको छ । सुनसरी, मोरङ, तेह्रथुम, धनकुटाका मुख्य पर्यटकीय गन्तव्यमा पर्यटक आगमन ठप्पप्रायः हुँदा सम्बद्ध व्यवसायी चिन्तित छन् । हरेक समय पर्यटकको भरिभराउ हुने प्रदेश १ का पर्यटकीय स्थल धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, सुनसरीकै वराह क्षेत्र–विजयपुर र इलामको कन्याममा अहिले पर्यटक आगमन ठप्प छ । होटल व्यवसाय बन्द भएपछि दैनिक लाखौंको आम्दानी गुमेको व्यवसायी बताउँछन् । कोरोनाको पहिलो र दोस्रो लहरका कारण पर्यटक व्यवसायमा ठूलो धक्का लागेको र अहिले पुनः तेस्रो  लहरले थप मारमा परेको उनीहरूको गुनासो छ । सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलिएका थिए । धनकुटा होटल एसोसिएसनमा १३० होटल आबद्ध छन् । सामान्य अवस्थामा यहाँका होटलमा दैनिक ४० लाखभन्दा बढीको कारोबार हुने गरेको छ । सिजनमा धनकुटाको भेडेटारमा दैनिक करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटक घुम्न आएको संघले बताएको छ । कोरोनाका कारण नाम्जेमा सञ्चालित घरबास समेत बन्द भएको छ । नाम्जेमा सञ्चालित होमस्टे गतवर्ष नेपालकै उत्कृष्ट भएर पुरस्कृत भएको थियो । कोरोनाकै कारणले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा तिनजुरे मिल्के जलजले, सुनसरी उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, वराह क्षेत्र र इलाम कन्याम पनि सुनसान भएका छन् । इटहरीको पर्यटकीय स्थल तालतलैयामा एक सातायता पर्यटक घटेका छन् । त्यस्तै इटहरीकै इपिल्याण्ड वाटरपार्कमा पनि पर्यटक आगमन घटेको छ । सुनसरीमा समेत जोखिम बढेको भन्दै सावधानी अपनाउन प्रशासनले अनुरोध गर्दै आएको छ । भीडभाड हुने क्षेत्रहरू सञ्चालन नगर्न सूचना जारी गरेलगत्तै पर्यटकीय क्षेत्रमा पर्यटकीय चहलपहलमा कमी आएको छ । बन्दाबन्दीका कारण गतवर्षको ९ महीना पर्यटन व्यवसाय प्रभावित भएकोमा अब पनि लकडाउन भए धराशयी हुने व्यवसायी बताउँछन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राहत प्याकेज नल्याएसम्म लकडाउनको कल्पना गर्न नसकिने उनीहरूको भनाइ छ । सरकारले संक्रमण फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाउन पुस २७ गते निर्देशन जारी गरेसँगै पर्यटकीय क्षेत्रमा चहलपहल घट्न थालेको हो । कोरोना कहर र सरकारको निर्देशनका कारण तालतलैया क्षेत्रमा पर्यटकीय गतिविधि ठप्पप्रायः बनेको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनाल बताउँछन् ।

ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै

उदयपुर । उदयपुरको पश्चिमी क्षेत्रको ताप्ली गाउँपालिकाको ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक पर्यटक आउने गरेका छन् । कोरोना सङ्क्रमण न्यून हुँदै गएपछि मङ्सिरको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको आगमन बढेको हो । अहिले दैनिक सयौंको संख्यामा पर्यटक ताप्ली पोखरी र पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न आउने गरेका ताप्ली–५ का विषुबहादुर तामाङ बताउँछन् । रौता पोखरी क्षेत्रपछिको दोस्रो महत्वपूर्ण धार्मिक पोखरी क्षेत्र तथा रमणीय पर्यटकीयस्थलको रुपमा रहेको ताप्ली पोखरीमा हिजोआज पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न र रमणीयस्थल हेर्न तथा बनभोज खान आन्तरिक पर्यटक आउने गरेका ताप्लीका कृष्ण परियारले बताए । ताप्ली पोखरीको ऐतिहासिक तथा धार्मिक महत्त्व छ । ताप्ली क्षेत्रको पोखरी क्षेत्रमा धेरै वर्षअघि जंगल थियो । पहिला त्यहाँ सानो पोखरी थियो । पञ्चकन्यादेवीको मन्दिर पनि पोखरीको भित्तामा छ । ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाका अनुुसार उक्त क्षेत्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । पोखरीको लम्बाइ ३०० मिटर तथा चौडाई सत्तरी मिटर छ । ताप्ली पञ्चकन्यादेवीको भाकल गरेर पूजाआराधाना गरे चिताएको पुग्ने जनविश्वास छ । यहाँ हिउँदमा बढी भक्तजन आउने गरेका छन् । गाउँपालिकाको पहलमा ताप्लीमा मोटरबाटो पुगेको छ । ताप्ली गाउँपालिकाकी उपाध्यक्ष कमला राई रमणीय स्थलको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक बढीजसो आउने गरेका बताउँछन् । ताप्ली क्षेत्रबाट दूधकोशी, सुनकोशी, पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुंगा, सिन्धुलीसहित तराईका सिरहा, धनुषालगायतको अवलोकन गर्न सकिन्छ । उत्तरी क्षेत्रका मनोरम हिमशृंखलाको समेत दृश्यावलोकन गर्न सकिन्छ । सो क्षेत्रमा चाँडै बिजुली बाल्न पहल भइरहेको गाउँपालिकाले बताएको छ । ‘गुरुयोजना बनाएर यस क्षेत्रको विकास गर्ने योजना छ,’ अध्यक्ष थापाले भने । रासस