पर्यटकीयस्थल पुनहिल-घोरेपानीमा गुराँस पार्क बनाइने

म्याग्दी-गण्डकी प्रदेश सरकारले म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६ रहेका पुनहिल–घोरेपानी क्षेत्रमा गुराँस पार्क बनाउने योजना बनाएको छ । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको घोरेपानीमा गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क बनाउन लागिएको हो ।गण्डकी प्रदेश सरकारले घोरेपानीमा गुराँस पार्क बनाउने योजना समेट्दै आवश्यक बजेट विनियोजनमा पहल गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा […]

सम्बन्धित सामग्री

नयाँ पर्यटकीय स्थानको खोजीमा अन्नपूर्ण गाउँपालिका

मंसिर २०, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्यका नयाँ स्थानहरुको पहिचान र प्रवर्द्धन कार्यक्रम अघि बढाएको छ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि नयाँ पदमार्ग सहित थप नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी अभियान सञ्चालन गरेको हो । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्ड सडकले ती स्थानहरुसम्म पुग्ने पदमार्ग विस्थापित भएपछि पर्यटकहरु अलमलमा पर्ने गरेका छन् । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘कोभिडपछिको पर्यटनका लागि भर्जिन गन्तव्य पहिचान गरेका छौँ’, उनले भने, ‘नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवर्द्धनमा जोड दिएका छौँ ।’ अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’, खयर–खोपारा, नारच्याङ र महभिर झरना, जलजले–फगाम–मोतिचौर बराह–धवलागिरि आधार शिविर, करबाकेली, बयली, मोहरेडाडा, प्यारीबाराही, कालीबराह ताल, फूलबारी, गुराँसपार्क, मुन्द्रा चढाउने डाँडा, नागी, टिकोट, पाउद्वार, सेकार्कु, रातोपानी कुण्ड अन्नपूर्णका नयाँ पहिचान भएका गन्तव्य हुन् ।  गहिरो अन्धगल्छी, रुप्से झरना, भुरुङ–तातोपानी, घोडेपानी, पुनहिल, अन्नपूर्ण–धवलागिरि पर्यावरणीय सामुदायिक पदमार्ग अन्नपूर्णका स्थापित पर्यटकीय गन्तव्य हुन् । प्राकृतिक दृश्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिकाको मोहरेडाँडा र खोपारामा रहेको सामुदायिक लजको क्षमता बढाइएको छ । अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने दुई ठाउँमा २०÷२० जना क्षमताको लज थिए । चाप बढेपछि मोहरेडाँडामा गाउँपालिका र पर्यटन मन्त्रालयले रू. एक करोड ५० लाख लगानीमा तीनओटा र खोपारामा गण्डकी प्रदेश सरकारको रू. २० लाख लगानीमा एक आठकोठे आश्रयस्थल भवन निर्माण भएको छ ।  विस्तार र सुविधा थपेर सामुदायिक लजको स्तरोन्नति भएपछि मानव बस्तीदेखि टाढा रहेको मोहरेडाँडामा पर्यटकले बास नपाएर दुःख पाउने समस्या हटेको मोहरेडाँडाको सामुदायिक लजका कर्मचारी नगेन्द्र गर्बुजाले बताए । प्रथम हिमालको सफल आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला पारेका फ्रान्सका मौरिज हर्गोजको नाममा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग सञ्चालन भएको छ । मौरिजको नामबाट नामाकरण भएको यस पदमार्गमा पर्यटन मन्त्रालयले रू. दुई करोडभन्दा बढी लगानीमा गत आर्थिक वर्षमा पदमार्ग बनाएको छ । पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान थालेका छन् । यसअघि हेलिकोप्टर चार्टर गरेर लैजानु पर्दथ्यो। आधारभूत स्तरको पदमार्ग, खोलामा पुल, बस्नका लागि आश्रयस्थल र नक्सा तयार पारिएको नारच्याङ–अन्नपूर्ण आधार शिविर जोड्ने मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले अन्नपूर्ण गाउँपालिका–७ फूलबारीमा गुराँस पार्क (उद्यान) स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ मा पर्ने बयली, घोडेपानी, फूलबारी, मोहरेडाँडा क्षेत्रमा गण्डकी प्रदेशमै ठूलो लालीगुराँसको जंगल भएको दाबी गरिएको छ । डिभिजन वन कार्यालय म्याग्दीको रू. १० लाख अनुदान सहयोगमा नेसरानी सामुदायिक वन उपभोक्ता समूहले २० रोपनी पाखो सम्याएर घेराबार गरी नेपालमा पाइनै सबै ३१ प्रजातिका गुराँसको बगैँचा र सूचना केन्द्रका लागि परम्परागत शैलीको गोलघर र सार्वजनिक शौचालय निर्माण गरी पार्क बनाएका हुन् ।  समूहका अध्यक्ष लालबहादुर गर्बुजाले गुराँसको अध्ययन तथा सूचना केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको पार्कबाट पृष्ठभूमिमा हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिने बताए । साइकल र घोडा मार्ग अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल, पोन्नी ‘ट्रेल’ (घोडा मार्ग) निर्माण भएको छ । उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले प्रदेश सरकारको रू. २० लाख सहयोगमा गत आर्थिक वर्षमा फरक–फरक ठाउँमा डेढ मिटर फराकिलो तीन÷तीन किलोमिटरको साइकल र घोडा मार्ग निर्माण गरेको जानकारी दिए ।  ‘मार्गको कालीसारमा चरा अवलोकनस्थल र भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ’, उनले भने, ‘घोडेपानीबाट पर्यटकहरु घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्छन् ।’ जंगलको बीचमा करीब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको हिमालको छायाँ देखिने तालमा जनैपूर्णिमा पर्वमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ ।