महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ ।
यहाँ विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको महाशाखाले जनाएको छ । धेरै टाढाटाढाबाट भक्तजन आउने हुनाले उहाँहरूको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनलाई निर्वाध आवतजावतको व्यवस्थासमेत मिलाइएको र पार्किङ गर्ने स्थानसमेत तोकिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।
नियमितजस्तै चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको र भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको महाशाखा प्रमुख भट्टराईले बताउनुभयो ।