वीरगञ्ज। हुलाकी राजमार्गअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडी खण्डको वैकल्पिक रूट खोजिने भएको छ । उक्त खण्डमा पर्ने चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणमा सर्वोच्च अदालतले रोक लगाएको ४ वर्षपछि वैकल्पिक रूट निकालेर निर्माण अघि बढाउने तयारी थालिएको हो ।
पर्साको ठोरीदेखि माडीको बगई खोलासम्म राजमार्गलाई रूट परिवर्तन गर्नेबारे प्रक्रिया अघि बढाइएको हुलाकी राजगमार्ग आयोजना वीरगञ्ज कार्यालयका आयोजना प्रमुख ध्रुवकुमार झाले जानकारी दिए ।
केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा सांसदहरूले गौरवका योजनाहरूबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा पर्सा र चितवनमा देखिएको समस्या समाधान गरी २०८४ सालसम्म हुलाकी राजमार्ग पूरा गर्ने लक्ष्य राखेको बताएका थिए ।
अहिले ठोरी–माडी खण्डमा निकुञ्ज छोडेर मध्यवर्ती क्षेत्र (बफर जोन) को दायाँ किनाराबाट कुसुमखोला र बाँदरझुला हुँदै रागमार्गको नयाँ रूट तय गर्ने प्रक्रिया अघि बढेको आयोजना प्रमुख झाले बताए । ‘पहिला वातावरणीय प्रभाव मूल्यांकनसमेत भइसकेको थियो । अदालतबाट त्यो रूटमा सडक नबनाउन आदेश आएपछि अब नयाँ रूट खोजेर निर्माण अघि बढाउने प्रक्रियामा अघि बढेका छौं,’ झाले आर्थिक अभियानसित भने ।
आयोजनाले यसबारे वन मन्त्रालय, निकुञ्जलगायत सरोकारका निकायसँग समन्वय गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा परेको भन्दै युनेस्कोले सडक निर्माण नगर्न ध्यानाकर्षण गराएको थियो ।
वन तथा वातावरण मन्त्रालयले लिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिको निर्णयसमेत त्रुटिपूर्ण भन्दै सर्वोच्च अदालतले २०७५ फागुनमा परमादेश जारी गरी निकुञ्ज क्षेत्रमा सडक निर्माणसम्बन्धी कुनै पनि काम नगर्न भनेको थियो ।
राष्ट्रिय गौरवको सूचीमा राखिएको हुलाकी राजमार्गअन्तर्गत रौतहटको बागमती पुलदेखि बारा, पर्सा हुँदै चितवनको जगतपुरखण्डको १५० किलोमीटरमध्ये ठोरीसम्म ११५ किलोमीटर सडक निर्माण पूरा भइसकेको झाले जानकारी दिए । बागमतीमा पुल निर्माण हुन बाँकी छ । हुलाकीको ११ मीटर चौडा सडकमध्ये ७ मीटर कालोपत्रे गरिएको छ ।
पर्साको वीरगञ्जदेखि ठोरी र चितवनको माडी हुँदै भरतपुरलाई जोड्ने यो राजमार्गको निर्माणपछि वीरगञ्जबाट भरतपुरसम्म पुग्न अहिले प्रयोग भइरहेको सडक दूरी छोटिने अपेक्षा गरिएको छ ।
ठोरीदेखि माडीको बगई १७ किलोमीटर, वनकट्टादेखि जगतपुरसम्म ७ दशमलव ३ किलोमीटर निकुञ्ज क्षेत्र र बगईदेखि वनकट्टासम्म राजमार्गको निर्माण कार्य बाँकी छ । यस खण्डमा १५ ओटा सानाठूला पुल पर्छन् । तीमध्ये चालू आर्थिक वर्षमा २ ओटा पूरा हुने भएका छन् । बगई, घाँघर र पतरी खोलाका तीनओटा ठूला पुल आगामी आर्थिक वर्षमा निर्माण गरिसक्ने लक्ष्य आयोजना कार्यालयको छ ।