जासुसी बेलुनका कारण बढ्यो चीन-अमेरिका सम्बन्धमा दरार, अन्य देशहरूपनि दुई कित्तामा बाँडिए

काठमाडौं । अमेरिका र चीनबीच विगत केही वर्षयता सम्बन्ध चिसिएको छ । जति समय बित्दैछ सम्बन्धमा चिसोपना झनै बढेको छ । पछिल्लो समय भने चीनको जासुसी बेलुनका कारण दुई देशबीचको दरार झनै फारकिलो बनेको छ । यसै कारण अन्तरराष्ट्रिय समुदाय नै धुव्रिकृत हुने खतरा बढेको विश्लेषण गर्न थालिएको छ ।   विगत केही हप्तादेखि अमेरिकाले आफ्नो आकाशमा देखिएका अज्ञात वस्तुहरुमाथि लडाकु विमानद्वारा आक्रमण गर्दै खसाइरहेको छ । गएको शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ जासुस बेलुन खसाएकोमा माफी माग्दै नमाग्ने बताएका थिए । केही घन्टामा चीनको विदेश मन्त्रालयले दुई देशबीच तनाव बढाएर अमेरिकासँग वार्ता जारी राख्न नसक्ने बताएको थियो । आफूले जासुस गर्न बेलुन नपठाएको चीनले बारम्बार बताइरहेको छ । उता अमेरिकाले आफ्नो आरोपलाई बलियो पार्ने नयाँ नयाँ प्रमाण देखाइरहेको छ । बेलुनका कारण फराकिलो बनेको दुई देशबीचको दरारले राष्ट्रिय सुरक्षा र भूराजनीतिक अस्थिरताका जटिलता झनै बढाउने विश्लेषण गरिएको छ ।  दुवै पक्ष आ–आफ्ना अडानबाट टसको मस नहुने अवस्थामा अमेरिका र चीनप्रति लगाव राख्ने देशहरुलाई अर्को देशले विश्वास कम गर्ने अवस्था देखिएको छ । अवस्था साम्य होला भन्दापनि विश्वव्यापी धुव्रिकरणको स्थिति उत्पन्न हुने खतरा बढेको छ । जासुसी बेलुनको विषयमा क्यानडा, जापान लगायत देशहरुको पनि चीनसँगको सम्बन्ध चिसो हुन थालेको छ । गएको हप्ता जापानले सन् २०१९ यता आफ्नो हवाई क्षेत्रमा जासुसी बेलुन देखिएको भन्दै आफ्नो आकाशमा उड्ने अज्ञात वस्तुबारे पुनः विश्लेषण गर्ने बताएको थियो । ताइवानी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले पनि चीनले आफ्नो भनेर दाबी गरेको टापुमा दर्जनौं पटक जासुस बेलुनले जासुसी गरेको समाचार छापेको थियो । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ बेलुन आफ्नो आकाशमा देखेको भन्दै संदिग्ध रक्षा वस्तु देखियो भने खसाल्न पनि नहिच्किचाउने बताएको छ ।  अमेरिकाको आरोप सही मान्ने र नमान्ने दुई थरी देशहरू छन् । आरोप सही मान्नेहरुले जासुस गर्न चीनले के कस्तो उपाय अपनाउने रहेछ भन्ने थाहा पाएका छन् । चीनले अरु पनि के के उपाय अपनाइरहेको होला भन्ने शंका उत्पन्न भएको छ । चीनले आफ्नो सफाईमा बेलुनलाई मौसम जाँच्ने नागरिक यान बताएको छ । चीनको यो दाबी पूष्टि गर्ने खालको जानकारीहरू सार्वजनिक भएको छैन । तर चीनले यी बेलुन सञ्चालन गर्ने कम्पनीको नाम पनि खुलाएको छैन । पारदर्शिताको अभाव अनि प्रश्नहरुले शंका गर्ने वा बढाइदिने कारण दिएको छ । अमेरिकी आरोपको खन्डन गर्दै चीनले विगतमा अमेरिकाले १० ओटा स्पाई बेलुन छोडेको दाबी गर्यो । यो दाबी भ्रामक छ । अमेरिकाले यसको खन्डन गरेको छ । चीनले अमेरिकाले आफ्नो क्षेत्रमा बेलुन छाडेकोले आफूले पनि छाडेको भन्नु स्वीकार्य हो त ? चीनको प्रतिक्रियाले चीनतर्फ भएका देशलाई पनि बेचैन बनाइदिएको छ । अमेरिकाले हालै आफ्नो आकाशबाट खसालेको वस्तुहरू विदेशी स्पाई यान जस्तो नभएको बताइएको छ । व्यवसायिक हवाई ट्राफिकको सुरक्षाका लागि ती वस्तुहरू खसाल्न जरुरी भएको बाइडेनको तर्क छ । अमेरिकाको यस कदमलाई पेचिङस्थित एक बौद्धिक समूह सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेशनका उपाध्यक्ष भिक्छर काओले भने आवश्यकता भन्दा धेरै प्रतिक्रिया भनेका छन् । अष्ट्रेलिया लगायत केही देशहरुले अमेरिकाको प्रशंसा गरेका छन् । बेलुन खसालेर माफी नमाग्ने बाइडेनको अभिव्यक्ति पछि चीनले पनि आफ्नो हवाई क्षेत्रमा देखिने अज्ञात वस्तुप्रति यस्तै खालको कारबाही गर्न उक्साएको छ । ताइवान लगायत चीनले आफ्नो भनेर दाबी गरेको क्षेत्रमा अमेरिकी हवाई जहाज र पानीजहाजप्रति पनि चीनले कठोर व्यवहार गर्ने सम्भावना बढेको छ । बेलुन विवादमा बाइडेन र सिले कुराकानी गर्दैछन् । दुवै देशका नेतालाई अर्कोको सामु नझुक्ने दबाब बढेको छ । तानव कम गर्न बाइडेन र सीसँग राजनीतिक समर्थन कति छ भन्ने प्रश्न पनि उठेको छ । जासुसी बेलुनको खबर बाहिर आएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । विश्वव्यापी सुरक्षा सम्मेलनको अवसरमा आज म्युनिखमा ब्लिकङ्किन र वाङबीच बीच छोटो भेटवार्ता भएको थियो । सो भेटमा ब्लिङकनले अमेरिकी हवाई क्षेत्रमा चीनले जासुसी बेलुन पठाएर अमेरिकी हवाई क्षेत्रको उल्लंघन गरेको भन्दै आलोचना गरेका छन् । चिनियाँ बेलुन खसाल्ने अमेरिकी कदमलाई भने वाङ उन्मादपूर्ण भनेका छन् । चीनले दूरसञ्चार उपकरण र सौर्य ऊर्जाका उपकरणहरुबाट अन्य देशहरुको जासुसी गर्ने गरेको अमेरिकी आरोपपछि अन्य देशहरुले पनि अमेरिकाको समर्थन गर्दै चिनियाँ उपकरणहरू हटाउने वा भावी परियोजनामा यसको प्रयोगमा बन्देज लगाउने नीति अघि सारेका छन् । अमेरिकाको पछिल्लो आरोपपछि उसका मित्रराष्ट्रहरुको चीनसँगको सम्बन्धमा कस्तो असर गर्ला भन्ने अनुमान सहजै गर्न सकिन्छ ।  यसले विश्वको सबैभन्दा ठूलो शक्ति बन्ने चीनको महत्वकांँक्षामा अर्को धक्का लाग्ने अनुमान गरिएको छ । एजेन्सीहरुको सहयोगमा