राइड सेयरिङका चालकले बाइकमा मोबाइल राखे २० हजारसम्म जरिवाना

ट्राफिक प्रहरीले पठाओ लगायतका राइड सेयरिङ कम्पनीका राइडरहरुले मोटरसाइकलको अगाडी ह्याण्डिलमा मोबाइल राख्नका लागि प्रयोग गरेका स्ट्याण्डहरु राख्न बन्देज लगाउने अभियान सुरु गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कम्पनीबाट मोटरसाइकल बनेर आउँदा बाहेकका सामान जडान गर्नु स्वतः स्वरुप परिवर्तन (मोडिफाई) मानिने भएकाले कारबाही सुरु गरिएको जनाएको छ ।‘ब्लु बुकको पछाडी पानामै लेखेको हुन्छ, हामीले यसअघि पनि सम्झाई बुझाई पनि गरेका हौँ’ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले भने, ‘सम्झाई बुझाई गर्दा खासै कमी आएन, त्यसपछि जरिवाना नै गर्न सुरु गरेका हौँ ।’उनका अनुसार न्यूनतम ५ सयदेखि २ हजारसम्म ठाउँको ठाउँ चिट काटेर जरिवाना गराउन सकिने र यसबाहेक आवश्यकताका आधारमा यातायातमै पठाउने सम्मको कारबाही हुनेछ ।‘हामीले ५ सयदेखि २ हजारसम्मको चीट् काट्ने हो, प्रकृति हेरेर यातायात पनि पठाउन सकिन्छ’  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले थपे, ‘यातायात पठाउँदा यातायातले ऐन अनुसार ५ हजारदेखि २० हजारसम्म जरिवाना लगाउन सक्छ ।’उनले पठाओ वा अरु कुनै राइड सेयरिङ कम्पनी लक्षित र विशेष अभियान नभई यो नियमित काम नै भएको बताए ।‘ह्याण्डिलमै स्ट्यान्ड राखेर मोबाइल राख्दा एउटा हातले मोबाइल चलाएर एउटा हातले मात्रै मोटरसाइकल हाँकेको पाईयो, यसले दुर्घटनाको जोखिम बढ्न सक्छ भनेर सम्भावित जोखिमलाई टार्नका लागि यसो गरिएको हो’ उनले थपे, ‘कुन राइड सेयरिङले त्यसरी राख्छन्, कुन कम्पनीले त्यसरी राख्छन्, राखेका छन् भन्नेसँग त हाम्रो सरोकार नै भएन नि ।’ उनले अझै आफूहरुले दुई तीन दिन सम्झाउने बताएका छन् ।ट्राफिक प्रहरीको यस्तो अभियानले राइड सेयरिङ सेवामा कस्तो असर पर्छ भन्ने विषयमा पठाओ नेपालका कन्ट्री डाइरेक्टर अशिम मान सिंह बस्नेतसँग सम्पर्क गर्दा उनको फोन उठेन ।