काठमाडौं । आजभन्दा करीब २८ वर्षअघि हजुरी विष्टले आफ्नो घरको भान्सा कोठाबाट उत्पादन शुरू गरेको अचार अहिले यूरोपसम्म निर्यात हुन थालेको छ ।
उनले उत्पादन गर्न थालेको नवरस र किचेन रेसीपी विदेशमा विक्री हुन थालेको हो । उनका अनुसार यतिखेर उद्योगको कुल उत्पादनको करीब ९० प्रतिशत अचार नेपाली बजारमै विक्री हुने गर्छ भने १० प्रतिशत यूरोपका देशहरू र अमेरिका, जापानसम्म पनि निर्यात हुने गरेको छ ।
नेपाली बजारमा विक्रीको जिम्मा विन मल्टी पर्पोजले कोअपरेटिभ लिमिटेडले लिएको छ । उसले भाटभटेनी, बिगमार्ट र सेल्सवेरीलगायत स्थानमा अचार विक्रीका लागि पठाउने गर्छ ।
विदेशी बजारमा चाहिँ निर्यातकर्ता व्यापारीहरूले किनेर निर्यात गर्ने गरेका छन् । उनको उद्योगमा माछा, मासु, खुर्सानी, मुला, काँक्रो, आँप, गुन्द्रुक, अमला, लप्सी, कागतीलगायत विभिन्न थरीका अचार बन्ने गर्छन् ।
दुवै ब्रान्डका अचार बट्टामा ५ सय ग्रामदेखि १ केजीसम्म प्याकेजिङ र लेबलिङ गरी बजारमा पठाइन्छ । अचारको परिकार र त्यसमा प्रयोग भएको वस्तुका आधारमा १५० देखि १ हजार १ सय मूल्यसम्ममा बजारमा किन्न पाइन्छ । शतप्रतिशत अग्र्यानिक भएकाले यसमा कुनै पनि प्रकारको केमिकल नमिसाइएको विष्ट बताउँछिन् ।
उनले काम शुरू गर्दा नेपाली बजारमा विदेशबाट आयातित अचारको खपत अत्यधिक हुने गरेको थियो । बजारमा कुनै पनि नेपाली अचारका परिकार थिएनन् । यो बुझेर विन मल्टी पर्पोज कोअपरेटिभ लिमिटेडले विष्टलगायत अन्य केही महिलाको समूहलाई अचार उत्पादन गर्नेसम्बन्धी तालीम दिएको थियो ।
ललितपुरको धोबीघाटस्थित आफ्नै घरमा उनी एक्लैले शुरू गरेको व्यवसायमा अहिले २२ जना कामदारले रोजगारी पाएका छन् भने यसको वार्षिक कारोबार २ करोड रुपैयाँसम्मको हुने गरेको छ । उद्योगको लगानी करीब ६ करोड रुपैयाँ पुगेको छ । उद्योगलाई बढाउँदै लैजाने क्रममा ज्वाइँ ऋतुराज पाण्डे र छोरी हिमाले काठमाडौंमै अचार घर नामक रेष्टुराँसमेत सञ्चालनमा ल्याएको उनले बताइन् ।
रेस्टुराँमा पनि उनले उत्पादन गरेका ब्रान्डका अचार प्रयोग हुने गर्छ ।
कुनै पनि कामलाई सानो र ठूलोको दृष्टिले हेर्नेभन्दा पनि सबै कामलाई समान रूपले हेर्न सकेमा सफलता हात पार्न गाह्रो नहुने उनको बुझाइ छ । ‘मलाई घर खर्च चलाउन समस्या भएर वा आर्थिक रूपले निकै समस्या परेर काम शुरू गरेको होइन । आफैले केही गरौं भनेर यो काम शुरू गरें,’ उनले विगत सुनाइन् ।
उनी भन्छिन्, ‘१७ वर्षको उमेरमा आइकम पढ्दापढ्दै विवाह भयो । विवाहपछि श्रीमान् पीएचडी अध्ययनका लागि पेरिस जानुभयो । म पनिसँगै गएँ । ७ वर्ष विदेश बसेर आएपछि श्रीमान्ले त्रिभुवन विश्वविद्यालयमा शिक्षण र अरू विभिन्न काम थाल्नुभयो । मैले चाहिँ अचार बनाउने काम शुरू गरें ।’
समाजशास्त्री डोरबहादुर विष्टकी बुहारी भएर पनि अचार बेच्ने काम गरेको भनेर समाजमा कुरा काट्दा त्यसलाई वास्ता नगरेको उनको भनाइ छ । ‘बरु छरछिमेकीका घरघरमा झोलामा अचार बोकेर मैले बनाएको अचार कस्तो छ चाखिदिनुस् भनेर बेच्न जान्थें,’ खुशी हुँदै उनी भन्छिन् ।
उनी थप्छिन्, ‘मेरो यही विश्वासका कारण भारत, चीन, बंगलादेशलगायतका देश घुम्ने अवसर पनि पाएँ । सरकारबाट उत्कृष्ट महिला उद्यमी पुरस्कार समेत प्राप्त गरें ।’
उनको कामबाट प्रेरित भएर धेरैले यस्तै व्यवसाय थालेका छन् । त्यसले उनलाई ६६ वर्षको उमेरमा पुग्दा पनि ऊर्जा प्राप्त हुन्छ ।