श्रद्धाञ्जली: एक 'पब्लिक इन्टेलेक्चुअल' को अवसान

परराष्ट्र, रक्षा र रणनीतिक मामिलालाई नजिकबाट नियाल्ने र त्यसको मिहीन विश्लेषण गरी नागरिक तहसम्म बुझाउने क्षमता राख्ने सीमित बौद्धिकहरु मध्येका एक व्यक्ति थिए- प्राध्यापक ध्रुवकुमार । अन्तर्राष्ट्रिय र रणनीतिक मामिलाका विषयमा छिनछिनमा विकास भइरहने घटनाक्रमलाई नियाल्ने प्रध्यापक ध्रुवकुमार एक महिना अघिसम्म चिनियाँ पत्रकार चाउ सेङपिङद्वारा लिखित किताब चिनियाँ पत्रकारको नजरमा नेपाल (सुधार वा समाप्त होऊ) खोजेर पढ्दै थिए । यहीबीचमा उनी बिरामी परे । रोगले च्याप्दै गएपछि ७३ वर्षको उमेरमा उनी बुधबार राति संसारबाट बिदा भएका छन् ।