सेमीकण्डक्टरको अभाव सन् २०२३ सम्म कायमै रहन्छ : इन्टेल सीईओ

कात्तिक ६, क्यालिफोर्निया(अमेरिका) । विश्वको सबैभन्दा ठूलो चिप उत्पादक कम्पनी इन्टेलले सेमीकण्डक्टरको अभाव सन् २०२३ सम्म कायमै रहने बताएको छ । इन्टेलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्याट ग्लेसिंगरले अहिलेको अवस्था हेर्दा थप दुई वर्षसम्म चिपको अभाव कायम रहने चेतावनी दिएका छन् ।  उनले चिपको अभावका कारण आफ्नो कम्पनीले पनि संघर्ष गर्नु परिरहेको बताएका छन् । उनले चिप अभावका कारण हालैका दिनमा कम्पनीको कारोबार घटिरहेको पनि बताए । विश्व बजारमा इन्टेल र एएमडीकोे चिप उत्पादनमा प्रमुख हिस्सा रहेको छ ।कम्पनीको नेटवर्थ २४० विलियन डलर रहेको  छ । कोरोना संक्रमणका कारण विश्वव्यापी लकडाउनका कारण चिप उत्पादन रोकिंदा अहिले विश्वभर नै सेमिकण्डक्टरको अभाव छ । स्मार्टफोन तथा कम्प्यूटरमा प्रयोग हुने चिप्सको अभाव हुँदा बजारमा ती सामग्रीको अभाव मात्र भएको छैन, महंगो पनि उत्तिकै भएको छ । सेमीकण्डक्टरको अभावले मोवाइल उत्पादक एप्पल लगायतका कम्पनीहरुले पनि  आफ्ना उत्पादनहरु मागअनुरुप बजारमा पठाउन सकिरहेका छैनन् । पछिल्लो समय उपभोग्य विद्युतीय सामग्री निर्माता कम्पनीदेखि अटोनिर्माता कम्पनीहरुसम्म सबैले सेमिकण्डक्टरको अभावको सामना गरिरहेका छन् । एजेन्सी