माघ २२, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ ।
गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन कम्पनीले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्द्धनको काम अघि बढाएको हो । कम्पनीले अघिल्लो एकै महीनामा थप दुई थान नयाँ जहाज खरीद गरेको थियो । कम्पनीले पछिल्लो पटक ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ ओटा जहाज भएका छन् ।
श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरका अनुसार ५ ओटा जहाज भित्र्याउने योजना अन्तगर्त ८० सिट क्षमताका समान तीन ओटा जहाज मध्ये दुई ओटा आइसकेको र बाँकी एउटा छिट्टै भित्र्याउने कम्पनीको योजना छ । ततपश्चात अन्य दुई जहाजको पनि खरीद प्रक्रिया अघि बढाइने छ ।
‘हाम्रो जहाज थप्ने र बजार विस्तार गर्ने योजना अनुरुप पाँच ओटा जहाज खरीदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका थियौं, अनुमति मागेको मध्ये तीन ओटा जहाज खरीद भइसकेको छ, दुई थान आइसके, बाँकी एक जहाज पनि छिट्टै नेपाल ल्याउदैछौं’, प्रबन्धक मानन्धरले बताए।
हाल उडान भइरहेका गन्तव्यमा उडान थप्ने, सुर्खेत र तुम्लिङटारमा नयाँ उडान सञ्चालन गर्ने कम्पनीको योजना छ । यसका लागि एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागिसकेको छ । परिस्थिति अनुकूल भएपछि उडान विस्तार गरिने कम्पनीको भनाइ छ ।
शुरुमा हाल एक मात्रै उडान गरिरहेका गन्तव्यहरु सिमरा र जनकपुरमा उडान थपिनेछ । त्यसपछि नेपाजगञ्ज, धनगढी, भद्रपुरलगायत गन्तव्यमा उडान थपिने एयरलाइन्सले जनाएको छ ।
कम्पनीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई ओटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।रासस
कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् ।
यही असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन् । अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ । शुरुआती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभयो । “असोज ५ गतेदेखि सबै प्रकारका आन्तरिक उडान शुरु हुँदैछन् । शुरुआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइनेछ”, उहाँले भन्नुभयो ।
एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ । शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ । छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् । नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ । बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ । बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान सङ्ख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।