सन् २००८/९ को तुलनामा सन् २००९/१० मा प्लाष्टिकका फर्निचर निर्यातमा ३७ प्रतिशतले कमी आएको छ । सन् २००८/९ मा रू. ३ करोड ५२ लाखको प्लाष्टिक फर्निचर निर्यात भएकोमा सन् २००९/१० मा रू. २ करोड २० लाखको फर्निचर निर्यात भएको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जानकारी दिएको छ । कच्चा पदार्थको आयात गर्दा लाग्ने भन्सार शुल्क भारतको तुलनामा नेपालमा महँगो भएको र नेपाली उत्पादनले भारतसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएकाले नेपाली प्लाष्टिक फर्निचरको निर्यातमा कमी आएको नेपाल प्लाष्टिक उत्पादक संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए । लोडसेडिङका कारण पनि उत्पादन घट्न गई मागअनुसार उत्पादन हुन नसकेको उनले उल्लेख गरे । नेपालमा प्लाष्टिकको फर्निचरका लागि चाहिने कच्चा पदार्थ साउदी अरेबियाबाट आयात हुँदै आएको छ । हाल नेपालले वार्षिक रू. ५ अर्ब बराबरको कच्चा पदार्थ आयात गर्ने गरेको अध्यक्ष प्रधानले जानकारी दिए ।
वर्ष ६, अंक ९९, बुधवार, १४ पुस, २०६७