कालीगण्डकीमाथि बेलिब्रिज निर्माण हुँदै

पर्वत । पर्वतको जलजला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीबजारसँग जोड्नेगरी कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण शुरू भएको छ । जलजला गाउँपालिका– २ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण थालिएको हो । कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती विगत दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो । पक्की पुल नहुँदा बगरफाँटवासीको दिनचर्या कष्टकर बनेपछि पुल बनाउन थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । पुल निर्माण भएपछि स्थानीयलाई हिँडडुल र कृषि उपज बेनीबजारमा पुर्‍याउन सहज हुनेछ । यहाँ बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन बिल्डर्स बेनीसँग पाँच महीनाभित्र योजना सम्पन्न गर्ने गरी १ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बेनी जोमसोम सडक आयोजना प्रमुख जगत प्रजापतिले बताए । निर्माण कम्पनीले कालीगण्डकी नदी किनारमा पुलको जग खन्ने काम थालेको छ । ५४ मिटर लामो बेलिब्रिज राख्न मेशिनरी पर्खालसहित ग्याबिन जाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिने निर्माण कम्पनीका सब–ओभरसियर सनम शाहीले बताए । पाँच महीनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि तीन महीनाभित्रै योजना सम्पन्न गर्ने लक्ष्यका साथ उपकरण र मजदूर परिचालन गरिएको उनले बताए । पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटबासीले आन्दोलन समेत गर्दै आएका थिए । कालीगण्डकी नदीमा पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता नगरेसम्म निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारले बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता गरेका थिए । करीब तीन सय घरधुरीको बसोवास रहेको बगरफाँटवासीले दैनिक उपभोग्य वस्तु भरियालाई बोकाएर लैजाने गरेका थिए । यसरी लैजाँदा सामानको मूल्य महँगो पर्ने गरेको थियो । बगरफाँटका बासिन्दा म्याग्दी आवतजावत गर्ने कालीपुल जोड्ने झोलुंगे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको छ । पुल बन्ने खबरले जलजलावासी उत्साहित भएका छन् ।

सम्बन्धित सामग्री

रारालिहीमा १४ करोड लागतमा पक्की पुल निर्माण हुँदै

जुम्ला-तिला गाउँपालिकाका दुर्गम बस्तीलाई यातायातको पहुँचमा पु-याउन पक्की पुल निर्माण कार्य सुरु गरिएको छ । तिलाका ६, ७, ८ र ९ नम्बर वडाका दर्जनौ दुर्गम बस्तीलाई कर्णाली राजमार्गसँंग जोड्न रारालिहीस्थित तिला नदीमा ट्रस बेलिब्रिज निर्माण थालिएको हो ।स्थानीय सरकार सञ्चालन पश्चात तिलाका ९ वडाका ३४ वटै बस्तीमा सडक पुगेका छन् । तर तीमध्ये तिलाका ६, […]

भेरी नदीमा पुल निर्माण हुँदै

जाजरकोट – डोल्पा सडक खण्डको बीचमा रहेका भेरी नदीमा बेलिब्रिज पुल निर्माण कार्य जारी छ । निर्माण व्यवसायीले अस्थायी रूपमा तल्लु बगरमा बेलिब्रिज निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो । जाजरकोटको नलगाड नगरपालिकाका १२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलिब्रिज बनाएर डोल्पा खण्डमा बेलिब्रिज पुल निर्माणको कामलाई तीव्रता दिएको सडक […]

सात वर्षसम्म पुल नबनेपछि त्रिसुलीमा बेलिब्रिज निर्माण हुँदै

पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको साढे सात वर्षसम्म त्रिसुली नदीमा मोटरेबल पुल नबनाएपछि अहिले बेलिब्रिज निर्माण सुरु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका चुमखोला र गोरखाको गण्डकी गाउँपालिका बुटार जोड्ने गरी अहिले ब्लु इनर्जी कम्पनीले सडक विभागको समन्वयमा...