व्यवसाय वृद्धिदर : निर्जीवन बीमाले जीवन बीमालाई उछिन्यो

चैत ३०, काठमाडौं । जीवन बीमाभन्दा निर्जीवन बीमा व्यवसायको वृद्धिदर बढी देखिएको छ । लामो समयदेखि निर्जीवनको तुलनामा जीवन बीमा व्यवसायको वृद्धिदर बढी थियो । अहिले आएर निर्जीवनले उछिनेको हो ।  वार्षिक ३०/४० प्रतिशतका दरले जीवन बीमा व्यवसाय बढ्दा निर्जीवन वृद्धिदर १० प्रतिशत हाराहारी हुन्थ्यो । तर, चालू आर्थिक वर्ष (आव) को फागुन मसान्तमा आइपुग्दा जीवन बीमा व्यवसायको वृद्धिदर सन्तोषजनक देखिएको छैन । निर्जीवन बीमाको वृद्धिदर उत्साहजनक छ । चालू आवको फागुन मसान्तसम्म जीवन बीमा व्यवसाय १२ दशमलव १७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा व्यवसायको वृद्धिदर २५ दशमलव २५ प्रतिशत पुगेको बीमा समितिबाट प्राप्त तथ्यांकले देखाएको छ ।  जीवन बीमातर्फ फागुन मसान्तसम्म ९२ अर्ब २० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन भएको छ । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ८२ अर्ब २० करोड बीमाशुल्क संकलन गरेका थिए । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।  निर्जीवन बीमातर्फ सोही अवधिमा करीब २५ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब २० करोड बीमाशुल्क संकलन गरेका थिए । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।  समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमा व्यवसायको वृद्धिदर राम्रो देखिएको बताए । ‘विगतका आर्थिक वर्षहरूमा निर्जीवन बीमा व्यवसायको वृद्धिदर त्यत्ति सन्तोषजनक थिएन । यसपालि उत्साहजनक देखिएको छ, यो वृद्धिदर कायम राख्नुपर्छ,’ उनले भने, ‘जीवन बीमा व्यवसायको वृद्धिदर भने केही कम देखियो । यसलाई बढाउन समिति प्रयत्नशील हुनेछ ।’ गत आवसम्म जीवन बीमा व्यवसायको वृद्धिदर उत्साहजनक थियो । यसपालिको वृद्धिदर भने त्यत्ति सन्तोषजनक नदेखिएको कम्पनीहरू बताउँछन् । तर, निर्जीवन बीमा व्यवसायको वृद्धिदर उत्साहजनक देखिएको तथ्यांकले नै पुष्टि गरेको छ । आकारमा जीवन बीमा व्यवसाय ठूलो छ, जुन स्वाभाविक भएको बताइन्छ । वृद्धिदरमा निर्जीवन बीमा व्यवसाय अगाडि देखिएको छ, जुन सकारात्मक पक्ष भएको सरोकारवाला बताउँछन् । उक्त अवधिमा कुल बीमा व्यवसाय (जीवन र निर्जीवन) भने १४ दशमलव ७५ प्रतिशतले बढेको छ । गत फागुनसम्ममा १ खर्ब १७ अर्ब ५० करोड बीमाशुल्क संकलन भएको छ । पोहोर उक्त अवधिमा १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको थियो । सरकारले रकम निकासा नगर्दा कोरोना बीमाको करोडौं रुपैयाँ दाबी भुक्तानी हुन सकेको छैन । त्यसको असर बीमा व्यवसायमा देखिएको कम्पनीहरू बताउँछन् । उक्त घटनाबाट बीमा कम्पनीहरूले दाबी भुक्तानी नै दिँदैन भन्ने छाप आम मानिसमा परेको छ, त्यसको असरले सर्वसाधारणले जीवन बीमामा आनाकानी गर्न थालेको बीमा कम्पनीका अधिकारी बताउँछन् । निर्जीवन बीमातर्फ भने व्यावसायिक क्षेत्रहरू चलायमान हुँदै गएपछि वृद्धिदर बढेको बताइएको छ । बीमायोग्य सम्पत्ति बढ्ने लगायत कारण पनि निर्जीवन बीमा व्यवसाय बढेको कम्पनीहरूको भनाइ छ । अभियान दैनिकको प्रिन्ट संस्करणबाट