काठमाडौं (अस) । नेपालका लागि स्कोडा गाडीको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एसयूभी स्कोडा कुसाकको बुकिङ खुलाउने घोषणा गरेको छ ।
स्कोडा एसयूभी कुसाकको मूल्य भारतमा सार्वजनिक भएलगत्तै नेपालमा यो गाडी साउनमा सार्वजनिक गर्ने योजना कम्पनीले बनाएको हो ।
स्कोडा कुसाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयूभी हो, जसले गर्दा यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने अपेक्षा कम्पनीको छ । नयाँ एसयूभी फक्सवागनको एमक्युबी–एओ–आईएन प्लेट फर्ममा यो गाडी बनाइएको हो ।
कुसाक स्कोडाको इन्डिया २.० प्रोजेक्टअन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयूभीहो । नेपालमा १.० लिटरको टिएसआई पेट्रोल इन्जिन भएका कुसाक भित्रनेछन् ।
टीएसआई इन्टरनेसनल इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन बनेको कम्पनीले बताएको छ । यो अवार्डलाई अटोमोबाइल क्षेत्रको ओस्कार समान मानिन्छ ।
यो इन्जिनले ११५ बीएचपीपावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । टीएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ ।
कुसाक एमक्युबीएओ आईएन प्लेटफर्ममा निर्माण गरिएको एसयूभी हो, जुन अप्ठेरा सडकलाई ध्यानमा राखेर विकास गरिएको हो । यो गाडी ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । यसको ह्विलबेस २६५१ एमएम छ, जुन सेग्मेन्टकै सबैभन्दा बढी हो ।
नयाँ कुसाकमा टु–स्पोक स्टेरिङ ह्वील, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, किलेस इन्ट्री स्टार्ट एन्ड एक्जिट सिस्टमलगायत सुविधा छन् । सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटोहेडल्याम्प एन्ड वाइपर, मल्टिकोलिजन ब्रेकिङ सिस्टम रहनेछन् ।
नयाँ कुसाक एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनिओरेन्ज र टोर्नेडो रेड गरी पाँच रङमा उपलब्ध हुनेछ ।
भारतमा १० लाख ५० हजारदेखि १७ लाख ६० हजार भारुसम्म मूल्य राखिएको नयाँ कुसाकको मूल्य नेपालमा ५० देखि ६५ लाख रुपैयाँको बीचमा रहने अनुमान छ ।