फागुन १, काठमाडौं । आइतवार शेयर बजार १०० दशमलव ६७ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो ।
यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा उच्च गिरावट आएको छ । अपर तामाकोशी हाइड्रोपावर, नारायणी डेभलपमेण्ट बैंक, शिवश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका हुन् । यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव ३७ प्रतिशत घटेको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४६ कायम भएको छ । त्यसैगरी दोस्रोमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ८ दशमलव २६ प्रतिशत, शिवश्री हाइड्रोपावरको ७ दशमलव ७५ प्रतिशत, विन नेपाल लघुवित्त वित्तीय संस्थाको ७ दशमलव ५९ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको ७ दशमलव ५२ पतिशत घटेको छ । बैंक तथा वित्तीय संस्थाले फागुन महीनाका लागि ब्याजदर बढाएसँगै यसको नकारात्मक प्रभाव शेयर बजारमा बढेको हो ।
सोही कारण यी कम्पनीका शेयरका क्रेताभन्दा विक्रेता हावी भएकाले शेयरमूल्य घटेको हो । नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य रू. ५००, शिवश्री हाइड्रोपावरको शेयरमूल्य रू. ३४५, विन नेपाल लघुवित्तको रू. १ हजार ५७० र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य रू. ६१५ कायम भएको छ ।