काठमाडौं । सरकारी तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को तुलनामा यस वर्ष धान उत्पादन ४ दशमलव ३३ प्रतिशतले बढेको छ । यस वर्ष देशभर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको छ । धान उत्पादनले कीर्तिमान बनाएकै वर्ष सरकारी खाद्य भण्डारमा न्यून मात्रामा खाद्यान्न मौज्दात रहेको पाइएको छ ।
विभिन्न किसिमका विपत्मा हुन सक्ने खाद्य संकटमा तत्काल आपूर्ति गर्न सरकारले अनिवार्य ३३ हजार मेट्रिक टन खाद्यान्न मौज्दात गर्नुपर्छ । तर, सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग अहिले करीब ८ हजार मेट्रिक टन मात्रै खाद्यान्न मौज्दात छ । खाद्यले लक्ष्यअनुरूप धान, चामल खरीद गर्न नसकेपछि गोदाममा पर्याप्त मात्रामा खाद्यान्न नभएको हो ।
यस वर्ष खाद्यले ५० हजार २ सय मेट्रिक टन धान खरीद गर्ने लक्ष्य राखेको थियो । त्यसका लागि सरकारले १ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । समयमै धान खरीद शुरू गरे पनि खाद्यले फागुन आधा हुँदा करीब ५ हजार मेट्रिक टन मात्रै किनेको छ ।
खाद्यले चामल पनि खरीद गर्न सकेको छैन । फलस्वरूप खाद्यान्न मौज्दातमा झन् कमी आएको कम्पनीले बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दका अनुसार खाद्यान्न मौज्दात घटेको र लक्ष्यअनुसार धान किन्न नसकेपछि कम्पनीले
२९ हजार र २० हजार मेट्रिक टन चामल खरीद गर्न छुट्टाछुट्टै टेन्डर आह्वान गरेको थियो । तर, टेन्डरमा भाग लिन कोही पनि आएन । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धका कारण टेन्डरमा भाग लिन कोही नआएको चन्दले सुनाए ।
टेन्डरमा भाग लिन कोही नआएको अवस्थामा खाद्यले केही धान, चामल आयातकर्ता व्यवसायीलाई गोप्य रूपमा बोलाएर जसरी भए पनि टेन्डरमा भाग लिइदिन आग्रह गरेको एक व्यवसायीले बताए । ‘तैपनि कसैले भाग लिन चाहेन,’ ती व्यवसायीले भने ।
भारतले चामल निर्यातमा गरेको कडाइका कारण चामलको मूल्य महँगो पर्ने देखिएपछि आयातकर्ताले टेन्डरमा भाग लिन नचाहेको ती व्यवसायीको भनाइ छ ।
‘भारतबाट निरन्तर रूपमा चामल ल्याउन सकिने अवस्था भएको भए हामीले टेन्डरमा भाग लिन सकिन्थ्यो । सरकारले गत साउनमा भारतबाट १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल आयात गर्ने प्रक्रिया थालेको थियो । पछि भारतले ९५ हजार मेट्रिक टन चामल दिन सहमति जनायो,’ ती व्यवसायी भन्छन्, ‘हामीले टेन्डरमा भाग लिए पनि त्यही कोटाबाट चामल ल्याउने हो । तर, भारतले पछिल्लो समय मौसम परिवर्तन गरेझैं आफ्नो निर्यात नीति परिवर्तन गरिरहेको छ । यस्तो बेला कसरी टेन्डरमा भाग लिनु ?’