नेपाल जलस्रोतमा पर्याप्त धनी मानिएको छ र यसको उपयोग विद्युत् उत्पादनमा पनि हुने गरेको छ । यो हरित र नवीकरणीय ऊर्जा भएकाले जलविद्युत् नेपालको उच्च प्राथमिकतामा छ । जलविद्युत्को निर्यातसमेत शुरू भइसकेको अवस्थामा नेपालले आफ्नो सम्पूर्ण सामथ्र्य यसमै खन्याउनु उपयुक्त छ । तैपनि एउटामात्रै स्रोतमा निर्भर हुनु हुँदैन । कथंकदाचित् ठूलो विपत्ति आएमा त्यसको ब्याकअपका लागि विकल्पमा जानै पर्ने हुन्छ । यस्तोमा नेपालले सौर्य ऊर्जालाई पनि प्राथमिकतामा राखेको छ ।
७७ ओटा आयोजनाबाट नेपालमा १४ सय ४३ मेगावाट सौर्य ऊर्जा उत्पादन हुने देखिएको हो । सर्वेको लाइसेन्सका लागि आवेदन दिएकादेखि निर्माणको लाइसेन्स पाएकासम्मका आयोजनाबाट यो परिमाणमा विद्युत् उत्पादन हुने हो । सौर्य ऊर्जाको आयोजना बनाउन धेरै समय लाग्दैन । घाम लाग्ने जग्गा धेरै चाहिन्छ । नेपालमा खाली जग्गा प्रशस्त भएकाले सौर्य ऊर्जाका लागि उपयुक्त देखिन्छ । ऊर्जा सम्मिश्रणको नीति लिएर सरकारले सौर्य ऊर्जा र वायु ऊर्जालाई समेत प्राथमिकतामा राखेको छ ।
सौर्य र वायु ऊर्जा उत्पादनका लागि सहज भए पनि भण्डारणको सुविधा नहुँदा चौबीसै घण्टा प्रयोग गर्न समस्या हुन्छ । अहिले सौर्य प्यानलहरू निकै सस्तोमा बन्न थालिसकेका छन् । प्रविधिको विस्तार र ठूलो परिमाणमा उत्पादन हुन थालेसँगै यसको मूल्य घट्दो छ । तर, घाम नलागेका बेला प्रयोग गर्न ब्याट्री महँगो पर्छ । यही कारण जलविद्युत्को महत्त्व बढी देखिएको हो । भारत र चीन दुवैले सौर्य ऊर्जामा ठूलो लगानी गरेका छन् । ब्याट्री सस्तो र टिकाउ हुनासाथ जलविद्युत्को महत्त्व घट्ने देखिन्छ ।
जलविद्युत् नै नेपालका लागि उत्तम विकल्प हो । यसको विकासका लागि नै ठूलो परिमाणमा लगानी आवश्यक छ । जलविद्युत् सबै मुलुकले उत्पादन गर्न सक्दैनन् । भारतले पनि आफूलाई आवश्यक पर्ने विद्युत् जलस्रोतबाट उत्पादन गर्न सक्दैन । नेपालमा बिजुली भन्नेबित्तिकै जलविद्युत् भन्ने दिमागमा आउँछ तर भारतमा कोइलाबाट उत्पादित बिजुलीको परिमाण अत्यधिक छ । यस्तोमा नेपालले जलविद्युत्को विकासमा ढिलाइ गरे सौर्य ऊर्जाबाट उसले काम चलाउनेछ र विद्युत् आयातमा रुचि राख्नेछैन ।