सिकाइका विभिन्न आयाममा दुईओटालाई महत्त्वपूर्ण रूपमा लिने गरिन्छ । पहिलो आयाममा काम गर्दै सिक्दै जाने पर्छ भने दोस्रो आयाममा सिकेर काम गर्दै जाने । नेपालको निर्यात क्षेत्रमा आज जो स्थापित व्यावसायिक व्यक्तित्वहरू छन् तिनीहरू सबैले काम गर्दै सिक्दै गएका हुन् । आज नेपालको निर्यात क्षेत्रमा जो स्थापित हुन चाहिरहेका छन् ती व्यक्तिहरू पनि सिक्दै सिक्दै यस क्षेत्रमा स्थापित हुन संघर्षरत छन् । जुन उत्साह र उमंगका साथ निर्यात क्षेत्रमा व्यवसायीहरूको प्रवेश हुन्छ, त्यो उत्साह र उमंग लामो समयसम्म कायम रहँदैन । कार्यक्षेत्रमा सक्रिय हुँदा थुप्रै बाधा व्यवधान र अप्ठ्याराहरूसँग जुध्दै लड्दै फेरि उठ्दै व्यवसायीहरू येनकेन प्रकारेण यस क्षेत्रमा टिकिरहेका छन् ।
यस्तो अवस्था सृजना हुनुमा निर्यात क्षेत्रमा प्रवेश गर्दा चाहिने व्यवस्थित ज्ञानको पूर्ण प्राप्ति सहज नहुनु प्रमुख कारणका रूपमा रहेको छ । उद्योग र फर्म दर्तादेखि सम्बद्ध उत्पादन विदेशस्थित क्रेताको हातमा नपुगुन्जेलसम्मका हरेक चरण, सिँढी, घुम्ती, मोड र विन्दुहरू पार गर्न के कस्ता ज्ञानहरूको आवश्यकता पर्छ भन्ने पूर्वज्ञानको अभावमै नेपाली व्यवसायीहरू निर्यात क्षेत्रमा प्रवेश गर्नुपर्ने बाध्यता छ । न विश्वविद्यालयहरूमा नै यस सम्बन्धमा विशेष अध्यापन हुने गरेको छ न त सम्बद्ध सरकारी निकायहरूसँग नै यस सम्बन्धमा व्यवस्थित पाठ्यक्रममा आधारित एकीकृत पाठ्य सामग्रीहरू नै उपलब्ध छन् । सबैभन्दा कमजोर अवस्था त के छ भने निर्यातकर्तालाई प्रारम्भदेखि उपभोक्तासम्मको पहुँचका माध्यमिक चरणहरूको जानकारी प्रदान गर्ने तालीमको पाठ्यक्रम, तालीम म्यानुअल र त्यसका विज्ञहरूको व्यवस्थित रोस्टरसमेत तयार हुन सकेको छैन । फलस्वरूप निर्यातकर्ताहरूलाई निर्यातसम्बन्धी सबै प्रकारका ज्ञानहरूको व्यवस्थित प्रवाह हुन नसक्दा निर्यात प्रक्रियाका सम्बन्धमा अन्योल उत्पन्न भई उनीहरूको धेरैजसो समय ती प्रक्रियागत पक्षहरूको पालनामै खर्च भइरहेको हुन्छ ।
देशका विभिन्न स्थानहरूमा निर्यात अभिमुखीकरण तालीम सञ्चालनका क्रममा स्थापित निर्यातकर्ताहरू, नवप्रवेशी निर्यातकर्ताहरू र निर्यातोन्मुख व्यवसायीहरू तीनै थरी व्यवसायीहरूसँग व्यापक रूपमा विचार आदानप्रदान, प्रश्नोत्तर र गहन अन्तरक्रियाहरू सम्पन्न भए । ती विचार आदानप्रदान, प्रश्नोत्तर र गहन अन्तरक्रियाहरूको निचोडमा नेपाली निर्यातकर्ताहरूलाई निर्यातका सम्पूर्ण पक्ष समेटेर व्यवस्थित ज्ञान प्रवाह हुन नसकेको अभाव टड्कारो रूपमा सहजै अनुभव गर्न सकिन्थ्यो ।
निर्यात क्षेत्रमा व्यवस्थित ज्ञानभन्ना साथ (१) व्यापारसम्बन्धी सैद्धान्तिक ज्ञान (२) व्यवसाय दर्ता प्रक्रिया (३) भन्सार प्रक्रिया (४) लजिस्टिक, (५) व्यापार वित्त व्यवस्थापन (६) व्यापारसम्बद्ध प्रावधानहरू (विश्व व्यापार संगठनसम्बद्ध घोषणा र प्रावधानहरू, साफ्टा, बिमस्टेकका प्रावधानहरू, द्विपक्षीय वाणिज्य र पारवहन सन्धिका प्रावधानहरू, कोटारहित शून्य भन्सार सुविधा, जीएसपी सुविधा, रेक्स सुविधा) (७) व्यापारसम्बद्ध कानूनहरू (ऐन, नियमावली, कार्यविधि, निर्देशिका, परिपत्र, नजीर र सूचनाहरू) (८) व्यापारसम्बद्ध नीतिहरू तथा (९) व्यापारसम्बद्ध निकायहरूका दोस्रो सतहका पत्रमा रहेको जानकारीसहितको ज्ञान भन्ने बुझिन्छ ।
व्यवस्थित ज्ञानको कमीका कारण निर्यात लागतमा वृद्धि भइरहेको नेपालको वर्तमान परिस्थितिमा नेपाली व्यवसायीहरूमा निर्यातसम्बन्धी वर्तमान असंगठित र अव्यवस्थित ज्ञानलाई संगठित र व्यवस्थित ज्ञानमा रूपान्तरण गरी उनीहरूको निर्यात गर्ने क्षमता अभिवृद्धि गर्न कार्यारम्भ गर्नु जरुरी भइसकेको छ ।
उपर्युक्त क्षेत्रका जानकारीहरू विषयगत रूपमा प्रदान गर्ने कारणले निर्यातकर्तालाई समग्रमा गम्भीर तहको व्यवस्थित ज्ञान प्रवाह हुन सकेको छैन । उदाहरणका लागि एक्जिम कोडसम्बन्धी प्रावधानलाई लिन सकिन्छ । निर्यात आयात कार्यहरू सम्पन्न गर्न एक्जिम कोर्डको आवश्यकता पर्छ भन्ने बारेमा त सबैलाई जानकारी नै छ । परन्तु एक्जिमकोड लिँदा पूरा गर्नुपर्ने प्रक्रियाहरूको चरणगत जानकारीको व्यवस्थित स्रोत सामग्रीको कमीका कारण एक्जिम कोड लिन चाहने सेवाग्राही अलमलमा परिरहेको देखिन्छ । एकदमै सरल रूपमा प्रदान गर्न सकिने रेक्स नम्बर लिने सम्बन्धमा व्यवस्थित स्रोत सामग्रीको कमीले निर्यातकर्ताहरू अलमल अलमल परिरहेको देखिन्छ ।
एकीकृत र व्यवस्थित स्रोत सामग्रीको कमीले गर्दा प्लान्ट क्वारेन्टाइन, पशु क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको निर्यात क्षेत्रसँग रहेको अति निकटतम अन्तरसम्बन्धका बारेका पनि निर्यातकर्तामा व्यवस्थित जानकारीको कमी देखिन्छ ।
यसरी निर्यातकर्ता र निर्यातोन्मुख व्यवसायीहरूलाई निर्यात क्षेत्रका बारेमा व्यवस्थित ज्ञान र ताजा जानकारी प्रदान गर्न तीनओटा कार्य गर्नु जरुरी देखिन्छ । पहिलो माथि उल्लिखित क्षेत्रका क्षेत्रगत र विषयगत विज्ञहरूको रोस्टर तयार गर्ने कार्य सबैभन्दा महत्त्वपूर्ण हो । ती रोस्टरहरू तयार गरिसकेपछि चयन भएका विज्ञहरूको सहकार्यमा माथि उल्लिखित नौओटा विधाका विभिन्न उपविधामा मिहीन रूपमा विस्तृत तालीम म्यानुअल तयार गर्नु पनि त्यत्तिकै जरुरी देखिन्छ । ती म्यानुअलहरू विषयगतको साटो वस्तुगत प्रकृतिको हुन जरुरी देखिन्छ ।
ती म्यानुअलका आधारमा निर्यातकर्ता, निर्यातोन्मुख व्यवसायीहरू र विभिन्न विश्वविद्यालयका इच्छुक विद्यार्थीहरूलाई रुचि र आवश्यकता अनुसार आवधिक तालीमको व्यवस्था हुन जरुरी छ । यस्ता तालीममा स्थापित निर्यातकर्तालाई ५ दिन तथा निर्यातोन्मुख व्यवसायीहरूलाई कम्तीमा पनि १ महीनाको तालीमको व्यवस्था हुन जरुरी छ । यस्तै विभिन्न विश्वविद्यालयका इच्छुक विद्यार्थीहरूलाई निर्यात व्यापारमा विशेष कोर्सहरू डिजाइन गरी ६ महीने र वर्ष दिने कोर्सको व्यवस्था गर्नु पनि जरुरी छ ।
यसका अतिरिक्त विश्वविद्यालयका वैदेशिक व्यापारसम्बन्धी कोर्सहरूमा व्यापार प्रवद्र्धक निकाय तथा व्यापार सम्बद्ध अन्य सरकारी निकायहरूबाट अध्यापन गराउने, ती निकायमा सम्बद्ध विद्यार्थीहरूलाई इन्टर्नसिपको व्यवस्था गरी अनुभव प्राप्त गराउनेजस्ता विषयमा पनि त्यत्तिकै ध्यान जानु आवश्यक देखिन्छ । स्थापित ठूला निर्यातकर्ताले आफ्ना जनशक्तिलाई अझ बढी दक्ष र जानकार बनाउन आफ्नै ब्यानरमा तालीमको आयोजना गर्ने र उक्त तालीमलाई प्रवद्र्धक निकायबाट आवश्यक प्राविधिक तथा समन्वयकारी सहयोग लिन पनि जरुरी देखिएको छ ।
उपर्युक्त प्रकृतिका कार्यहरू गर्न भारतमा भारतीय विदेश व्यापार संस्थान रहेको छ जो मानित विश्वविद्यालयका रूपमा पनि क्रियाशील रहेको छ । नेपाल सरकारले पनि वर्तमान व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलाई सोही प्रकृतिको थिंक ट्याङ्कका रूपमा विकास गर्ने नीति अंगीकार गरेको छ । यस सन्दर्भमा वर्तमान व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलाई निर्यात क्षेत्रको महाविद्यालयका रूपमा विकास गर्नु जरुरी छ । यसको शुरुआत उपर्युक्त नौओटा क्षेत्रमा नेपाली निर्यातकर्ता र निर्यातोन्मुख व्यवसायीहरूमा रहेको ज्ञानको अन्तरलाई शून्यमा झार्ने गरी तालीम म्यानुअल तथा ती प्रकृतिका तालीमहरू प्रदान गर्न सक्ने विज्ञहरूको रोस्टर एवम् तालीमको कार्यतालिकाको व्यवस्थाबाट गर्नु जरुरी देखिन्छ ।
सारमा भन्नुपर्दा व्यवस्थित ज्ञानको कमीका कारण निर्यातजन्य लागतमा वृद्धि भइरहेको नेपालको वर्तमान परिस्थितिमा नेपाली व्यवसायीहरूमा निर्यातसम्बन्धी वर्तमान असंगठित र अव्यवस्थित ज्ञानलाई संगठित र व्यवस्थित ज्ञानमा रूपान्तरण गरी उनीहरूको निर्यात गर्ने क्षमता अभिवृद्धि गर्न उपर्युक्त क्षेत्रमा कार्यारम्भ गर्नु जरुरी भइसकेको छ । नेपाल सरकार, प्राज्ञिक जगत् र निजीक्षेत्रको मिलन विन्दुबाट सृजना हुने ज्ञानको यस नयाँ प्रवाहले निश्चय नै नेपालको निर्यात क्षेत्रलाई गतिशील बनाउन सहयोगी भूमिका खेल्ने निश्चित छ । लड्दै पड्दै सिक्नुभन्दा सिकेर व्यवसायमा प्रवेश गर्नु कम खर्चिलो, कम जोखिम पूर्ण र बढी निश्चयमुखी हुन जान्छ । तसर्थ व्यवस्थित र संगठित ज्ञानयुक्त निर्यातकर्ता जन्माउन उपर्युक्त नौओटा क्षेत्रमा उपर्युक्त विधिअनुसारका गहन प्रकृतिका तालीम कार्यक्रमहरू सञ्चालन हुन जरुरी छ । यसतर्फ सम्बद्ध सबै पक्षको ध्यानाकर्षण हुन जरुरी छ । नेपालको निर्यात क्षेत्रका व्याप्त वर्तमान जडतालाई गतिशीलतामा रूपान्तरण गर्ने व्यवस्थित ज्ञान र ताजा सूचना प्रवाह यो पहिलो खुड्किलो हो ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा वरिष्ठ अधिकृत हुन् ।