साउन २०५४ को अन्तिम साता । दिनको अन्तिम घडीमा इन्द्रावती नदी साउने भेल बनेर उर्लिदैं आयो । साविक बाँडेगाउँ गाविसस्थित प्यूघर बस्तीलाई कटान गरेर माझी समुदायको १२ घर क्षणभरमै नदीमा मिसियो ।
साउने अविरल वर्षासँगै आएको बाढीले आफूहरू बस्दै गरेको बस्ती निमिट्यान्न पारेको त्यतिबेलाको दृष्य अझै आँखै अगाडि झल्झली नाचिरहन्छ इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँका रामकृष्ण माझी (५६) लाई । २२ वर्षअघिको त्यो प्राकृतिक प्रकोपपछि अझैसम्म घरमा बस्न नपाएका रामकृष्णलाई त्यो दिनले पटक पटक झस्काइरह्यो । “आँखै अगाडि बस्ती बगेपछि त्यो पीडा अझै मनमा गढिरहेको छ,” रामकृष्ण भन्छन्, “त्यसदिनदेखि भएको टहराको बास २२ वर्षसम्म चल्यो ।”