सहिदप्रति श्रद्धाञ्जली वा अवमूल्यन ?

मोहनविक्रम सिंह ।। प्रत्येक साल माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ । यहाँसम्म कि पञ्चायत कालमा पनि त्यसरी सहिद सप्ताह मनाउने गरिन्थ्यो । आफ्ना सिद्धान्त, उद्देश्य र आस्था वा सहिदका आदर्शबाट विचलत भएका व्यक्तिहरूले पनि सहिद सप्ताहमा सहिदप्रति श्रद्धा र सम्मान प्रकट गर्ने गर्दथे । तर के त्यो वास्तवमा सहिदप्रतिको श्रद्धाञ्जली नै हुन्छ वा ….? गङ्गालाल, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त निरङ्कुश राणाशासन विरुद्धको सङ्घर्षमा सहिद भएका थिए । उनीहरूले लोकतन्त्रको लागि बलिदान दिएका थिए । तर पछि सहिदका आदर्शसित विश्वासघात गर्ने, लोकतन्त्रको हत्या गर्ने वा त्यस प्रकारका कारबाहीमा सहभागी हुने तत्त्वले पनि सहिद सप्ताह मनाउने गरेका छन् । त्यो सिलसिला अहिले पनि चलिरहेको छ । त्यो सहिदप्रतिको सम्मान हो वा उनीहरूको अपमान ? टङ्कप्रसाद आचार्य बाहुन भएको हुनाले उनलाई मृत्युदण्ड नदिएर आजीवन कैदको सजाय दिइएको थियो । त्यसैले उनलाई ‘ज्युँदो सहिद’ बताइन्छ । कतिपय विदेशी लेखकले उनलाई ‘ज्युँदो सहिद’ बताएर किताब पनि लेखेका छन् । तर पछि उनले लोकतन्त्रको हत्या गर्ने राजा महेन्द्रको शाही कदमलाई साथ दिए । २००७ सालको परिवर्तनको सबैभन्दा ठुलो उपलब्धि संविधान सभाको चुनाव थियो । सार्वभौमसत्ता जनतामा हस्तान्तरण हुने र त्यसको परिणामस्वरूप राजतन्त्रको पनि अन्त्य हुने आशङ्काले राजा महेन्द्रले संविधान सभाको चुनाव हुन नदिने षड्यन्त्र गर्न थालेका थिए । त्यो षड्यन्त्रमा टङ्कप्रसाद आचार्य पनि सामेल भएका थिए; र, उनले संविधान सभा विरुद्धको षड्यन्त्रमा राजा महेन्द्रलाई साथ दिएका थिए । त्यसको बदलामा उनलाई प्रधानमन्त्री पनि बनाइएको थियो । त्यसरी यो बुझ्न गाह्रो पर्दैन कि प्रजातन्त्रका लागि लामो सङ्घर्ष, त्याग र बलिदान गरेका एउटा अद्वितीय नेताले प्रधानमन्त्री पदको लागि, आफ्ना व्यक्तिगत स्वार्थको लागि आफ्ना जीवनभरका आदर्शहरूबाट नै विचलन भएको थियो । टङ्कप्रसाद आचार्य र त्यो बेलाका प्रजा–परिषद्का कैयौँ नेताहरूले पनि सहिद सप्ताहको बेलामा भूगोलपार्कको परिक्रमा गरेर सहिदप्रति सम्मान प्रकट गर्ने गर्दथे । उनीहरूको सहिदप्रतिको त्यस प्रकारको सम्मान वा भूगोलपार्कको परिक्रमाको उल्लेख गर्दै काठमाडौँको भद्रगोल जेलमा छँदा मैले एउटा कविता ...