पर्यटनमा उच्च व्यवस्थापन आवश्यक

नेपालमा आर्थिक विकासको चाहना निकै बढेको छ । राजनीतिक परिदृश्यसँग भन्दा आर्थिक विकास र अर्थतन्त्रसँग धेरैको चासो रहने गरेको छ । यद्यपि राजनीति र आर्थिक विकासको सम्बन्ध रहेको हुन्छ । नेपाल अपेक्षित रूपमा आर्थिक विकासको गतिमा अघि बढ्न नसक्नुमा राजनीतिलाई नै प्रमुख अवरोध मानिएको छ । अर्थतन्त्रका विविध आयाम हुन्छन् । देशको आर्थिक विकासका लागि सम्भावनाका विविध क्षेत्र रहेका छन् । तीमध्ये पर्यटन एक हो । नेपालको भौगोलिक संरचना नै एउटा महत्त्वपूर्ण पूर्वाधार मानिने भएको हुँदा त्यसमा सामान्य लगानी गरेर पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ । पर्यटक बढिरहेका छन्, तर त्यसको अनुपातमा तिनको खर्च र बसाइ बढ्न सकेको छैन । संख्या बढ्दा जस लिने र घट्दा दोष थोपर्ने प्रवृत्ति सरोकारवालाहरूमा पाइन्छ । तर, सथ्यतथ्य पत्ता लगाएर सुधार गर्ने कुरामा भने ध्यान गएको छैन । कुनै पनि स्रोत चाहे मानवीय होस् वा प्राकृतिक, त्यसको सही परिचालन गर्न चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यवस्थापन हो । नेपालमा उत्कृष्ट व्यवस्थापक नभएको वा भएका व्यवस्थापकले काम गर्न नपाएकाले नै सबैजसो काम लथालिङ्ग पाराको देखिन्छ । पर्यटनमा सही व्यवस्थापन भयो भने कत्तिको सफलता मिल्छ भन्ने कुरा भारतमा अमिताभ कान्तले इन्क्रिडिबल इन्डिया अभियानबाट पर्यटनको लहर ल्याएबाट स्पष्ट हुन्छ । त्यतिबेला होटेलको अकुपेन्सी दर १० देखि १५ प्रतिशत थियो । विश्वमा देखिएको अन्योलले गर्दा कतिपय देशले पर्यटनका गतिविधि नै रोकेको थिए । तर, यही संकटका बेलामा कान्तले यो अभियान चलाएर भारतीय पर्यटन क्षेत्रमा ठूला परिवर्तन ल्याए । अहिले भारतीय पर्यटन जति फस्टाएको छ त्यो यही जगको कारणले हो । कान्त तिनै व्यक्ति हुन् जसले अतिथि देवो भव, मेक इन इन्डिया, स्टार्ट अप इन्डिया र गड्स आउन क्रन्टीजस्ता अभियानको नेतृत्व लिएका छन् । वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलका अनुसार २०२१ मा भारतको कुल जीडीपीमा पर्यटनको योगदान ५ दशमलव ८ प्रतिशत पुगेको थियो । २०३१ सम्ममा यो बढेर ७ प्रतिशत नाघ्ने अनुमान गरिएको छ । ट्राभल एन्ड टुरिजम कम्पिटिटिभनेस इन्डेक्समा १४० देशमध्ये भारत ३४औं स्थानमा रहेको छ । भारतमा प्रतिवर्ष ७ प्रतिशतभन्दा बढी दरले पर्यटक आगमनको संख्या बढिरहेको छ । यसरी भारतमा पर्यटन क्षेत्रले गति लिनुमा कान्तको योजना र नाराले काम गरेको देखिन्छ । तर, कान्तले इन्क्रिडिबल इन्डियाको नारा ल्याउनुअघि नै नेपालले भ्रमण वर्ष मनाए पनि पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्न सकेन । त्यसयताका भ्रमण वर्ष र अन्य कार्यक्रम प्रभावकारी नदेखिनुमा उच्च व्यवस्थापनको क्षमता नहुनु नै हो । पर्यटन विश्वको फस्टाउँदो धूवाँरहित उद्योग हो । गरीबी निवारणमा यसको महत्त्वपूर्ण योगदान रहन्छ । यसले विश्वको कुल गार्हस्थ्य उत्पादनमा १० दशमलव ४ प्रतिशत र विश्वको कुल रोजगारीमा ९ दशमलव ९ प्रतिशत योगदान गरेको छ । विश्वका ८ उच्च शिखर र विशेष भूबनोट,  पर्वतारोहण तथा साहसिक यात्राका लागि अनुकूल क्षेत्र, हिन्दू र बौद्ध धर्मावलम्बीको पुण्यभूमि तथा अनुकूल हावापानीले नेपाल विश्वकै एक आकर्षक गन्तव्य मानिन्छ । तर, नेपालको जीडीपीमा यसको योगदान ३ देखि ५ प्रतिशतको हाराहारी मानिएको छ । हामीसँग सही तथ्यांकसमेत छैन । विश्वको एकतिहाइ जनसंख्याको बीचमा रहेको नेपालको पर्यटकीय सम्भावना निकै उच्च छ । लोन्ली प्लानेटलगायत विभिन्न संस्थाले नेपालका कुनै न कुनै ठाउँलाई विश्वको घुम्नलायक ठाउँमा पार्ने गरेका छन् । तर, त्यसरी तिनले सित्तैमा गरिदिएको प्रचारलाई समेत हामीले उपयोग गर्न सकेका छैनौं । यो भनेको हाम्रो व्यवस्थापन क्षमता कमजोर हुनु नै हो । दक्षिण एशियामा भित्रने पर्यटकमध्ये करीब ६ प्रतिशतको अंश नेपाल आउँछन् । नेपालमा करीब ३० जनाको भागमा १ पर्यटकमात्र पर्ने आउने देखिन्छ । अन्य देशको दाँजोमा यो निकै कम हो । यसले पर्यटनमा गुणस्तरीय सेवा दिन नसकेको तथ्यलाई उजागर गर्छ । पर्यटकीय दृष्टिबाट नेपाल निकै सम्भावना बोकेको मुलुक भए तापनि यसको विकास र बिस्तारमा कैयन् अवरोध छन् । कमजोर पर्यटकीय पूर्वाधार, जोखिमपूर्ण यातायात, तालीम प्राप्त जनशक्तिको न्यूनता, सम्बद्ध निकायको कमजोर संस्थागत क्षमता, कमजोर समन्वयका कारण पर्यटनले अपेक्षित गति लिन नसकेको देखिन्छ । सम्भावना दोहनका लागि पर्यटन क्षेत्र राम्ररी बुझेको र एउटा निश्चित दृष्टिकोण बोकेको उच्च व्यवस्थापन शीप भएको व्यक्तिलाई यसको नेतृत्व दिनुपर्छ । पटकपटक नारा र कार्यक्रम फेर्ने, तिनको असफलता र सफलताबाट सिकेर नयाँ योजना बनाउन नसक्नेजस्ता कमजोरीकै कारण नेपालको पर्यटन फस्टाउन नसकेको हो । छरिएर रहेका कार्यक्रम र निकाय तथा ती बीच समन्वयको अभाव नै पर्यटनको विकास हुन नसक्नुको कारण मान्न सकिन्छ । पहिले स्वदेश अनि विदेश भन्ने नारा लिए पनि विदेश भ्रमणको क्रम बढेको बढ्यै छ । तर, यसरी विदेश भ्रमणमा जाने नेपालीलाई नेपालको पर्यटनको प्रचारमा प्रयोग गर्न सकिनेतर्फ कुनै काम भएको छैन । त्यस्तै गैरआवासीय नेपालीहरूलाई समेटेर ल्याइएको कार्यक्रम पनि फलदायी देखिएन । गन्तव्य पनि उत्कृष्ट छ, सेवा पनि छ र नेपाल आउन चाहने पनि छन् । तर, तिनको समन्वय हुन नसक्दा नेपालको पर्यटन विनायोजना चलेको छ भन्न सकिन्छ । पर्यटक बढिरहेका छन् तर तिनको खर्च र बसाइ बढ्न सकेको छैन । संख्या बढ्दा जस लिने र घट्दा दोष थोपर्ने प्रवृत्ति सरोकारवालाहरूमा पाइन्छ । तर, सथ्यतथ्य पत्ता लगाएर सुधार गर्ने कुरामा भने ध्यान गएको छैन । साहसिक पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्य हो । तर, त्यही क्षेत्रमा पर्यटक बढाउन सकिएको छैन । र्‍याफ्टिङमा हामीले हाम्रो प्रतिस्पर्धी को हो र हामीकहाँ आउने पर्यटक अहिले कता गए भनेर खोज नै गरेका छैनौं । तथ्य तथ्यांक संकलन गर्ने, विश्लेषण गर्ने र त्यस आधारमा नीति र कार्यक्रम तय नगर्ने हो भने पर्यटनको सम्भावना पनि जलस्रोतमा धनी भन्ने भनाइ जस्तै परम्परामा मात्रै नरहला भन्न सकिँदैन । लेखक पर्यटन व्यवसायी हुन् ।