आन्तरिक पर्यटकको आकर्षण बन्दै बंगलाचुली पार्क

दाङ । पछिल्लो समय दाङका विभिन्न ठाउँमा विभिन्न पार्क निर्माण तथा सञ्चालन गरी आन्तरिक पर्यटन प्रवद्र्धनको प्रयास थालिएको छ । यसैको उदाहरण हो दाङको बंगदाचुली गाउँपालिकाले बनाएको ‘बंगलाचुली पार्क’ । बंगलाचुली गाउँपालिका–५ को पुरानो बजार मुर्कुटीदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ । करीब २५० रोपनी क्षेत्रफलमा गाउँपालिकाले पार्क निर्माण गरेको हो । सामुदायिक वनमा पर्ने उक्त क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न बृहत् योजनाका साथ अघि बढाइएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । ‘यस क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘केही भौतिक संरचना बनिसकेका छन् भने केही बन्दै छन् ।’ पार्कस्थलमा अहिले रू. १ करोड २६ लाखको लगानीमा आधुनिक भ्यू–टावर निर्माण भइरहेको छ, जुन काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । भ्यू–टावर सञ्चालनमा आएपछि भारतका विभिन्न ठाउँ, प्यूठानको स्वर्गद्वारी मन्दिर, विभिन्न हिमालका साथै दाङ उपत्यका सहजै अवलोकन गर्न सकिनेछ । त्यसैगरी पार्कस्थलमा प्रतीक्षालय, नाचघर, पार्कको विभिन्न ठाउँमा बस्न कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र हिँडडुल गर्न पक्की बाटोलगायत संरचनाको निर्माण सम्पन्न भइसकेको गाउँपालिकाले बताएको छ । यी संरचना निर्माणका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालयमार्फत गतवर्ष रू. ५० लाख र यस वर्षमा २० लाख गरी रू. ७० लाख लगानी गरिएको छ । त्यस्तै गाउँपालिकाले पनि २० लाख र पर्यटन बोर्ड भैरहवाले ५ लाख लगानी गरेको अध्यक्ष वलीले जानकारी दिएका छन् । विभिन्न क्षेत्रबाट करोडौंको लगानी भए पनि धेरै संरचना बनाउन अझै बाँकी रहेको त्यसलाई निरन्तरता दिँदै लैजाने उनको भनाइ छ ।