काठमाडौं (अस) । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकभित्र सरकारले लगानीमैत्री वातावरण तयार गरिसकेको दाबी गरेका छन् । अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए)को संयुक्त आयोजनामा अर्थ मन्त्रालयमा सोमवार भएको कार्यक्रममा मन्त्री पौडेलले नेपालमा लगानीका लागि कुनै जोखिम नभएको भन्दै गैरआवासीय नेपालीलाई पूँजीसँगै शीप तथा प्रविधि भित्र्याउन आग्रह गरे ।
पूँजी भित्र्याउन एनआरएनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा अर्थमन्त्री पौडेलको जोड थियो । एनआरएनहरूलाई संसारभरका लगानीकर्ताको पूँजी नेपालमा ल्याउन ‘लगानीदूत’ भएर काम गरिदिन समेत उनले आग्रह गरे ।
एनआरएनका अध्यक्ष कुमार पन्तले १० अर्ब रुपैयाँको कोष बनाएर विभिन्न क्षेत्रमा लगानी गर्न प्रतिबद्धताका साथ लगानी जुटाउन आफूहरू लागिपरेको बताए । विभिन्न देशमा रहेका नेपालीले पूँजी संकलन गरेर कोष खडा गरी जम्मा भएको पूँजी नेपालको पूर्वाधार विकासमा खर्च गरिने उनको भनाइ थियो ।
कम्पनीका अनुसार फण्डले पहिलो चरणमा विदेशमा रहेका १० लाखभन्दा बढी नेपालीलाई लक्षित गरी नेपालमा पहिलोपटक विदेशी मुद्रामा आईपीओ जारी गर्ने उनले बताए । दोस्रो चरणमा सहायक कम्पनी स्थापना गरेर नेपालमै बस्ने नेपालीका लागि समेत आईपीओमा लगानीको अवसर दिइने उनको भनाइ छ ।
कार्यक्रममा अर्थसचिव शिशिर ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनीले एनआरएनएलाई लगानी जुटाउन समेत सरकारले सहयोग गर्ने बताए । उनीहरूले पराम्परागत लगानीका क्षेत्रबाहेकका ठाउँमा यो फन्ड प्रयोग गरिनुपर्नेमा जोड दिए ।