काठमाडौं । गोकर्ण फरेस्ट रिसोर्ट प्राइभेट लिमिटेडले ५ वर्षमा नै १ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२३ (आर्थिक वर्ष २०७९/८०) ६ महीनामा नै २० करोड २० लाख रुपैयाँ सञ्चालन नाफा गरेको हो ।
कम्पनीले अहिले सानादेखि ठूला स्तरका कार्यक्रमहरू गर्न मल्टिपल हलहरू भएको ८० करोड रुपैयाँ अनुमानित लागतमा अन्तरराष्ट्रिय स्तरको कन्फ्रेन्स सेन्टर निर्माण गरिरहेको छ । रिसोर्टको उक्त हल सन् २०२४ को अप्रिलदेखि सञ्चालन ल्याउने लक्ष्य छ ।
ईक्राका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०१९ मा ४२ करोड ४० लाख रुपैयाँ, वित्तीय वर्ष सन् २०२० मा २६ करोड २० लाख रुपैयाँ, वित्तीय वर्ष सन् २०२१ मा १२ करोड ७० लाख रुपैयाँ र वित्तीय वर्ष सन् २०२२ मा ३३ करोड ९० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीले कुल व्यापारको ३० प्रतिशत हिस्सा बैंक्वेटको व्यापारबाट आर्जन गरेको छ ।
गोकर्ण फरेस्ट रिसोर्टमा यती/थामसेर्कु ग्रुपको लगानी छ । सन् १९९५ मा स्थापना भएको यस रिसोर्ट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९ किलोमिटरको दुरीमा छ । रिसोर्टमा १०० कोठा क्षमता रहेको छ।
कम्पनीको ६६ करोड ५१ लाख रुपैयाँको दीर्घकालीन कर्जा र ६ करोड ९७ लाख रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । ईक्राले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ ।